
अत्तरियाः ४ वर्ष अधि कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १० को खमौरा शिविर जोड्ने कल्भर्ट बन्ने भएपछि स्थानीय हर्षित थिए । रातोपानी र दुधेपानी मिलेर बनेको उक्त खोला तर्न कल्भर्ट निर्माण पछी सहज हुने उनीहरुको आसा थियो ।

तर त्यो आसा अहिलेसम्म आसामै सिमित छ । ४ वर्ष अघि नगरपालिकाको २२ लाख बजेटमा निर्माण भएको उक्त कल्भर्ट प्रयोग समेत नआउँदै भत्किएपछि स्थानीयलाइ अहिलेपनि खोला तर्न उस्तै समस्या छ । “पहिलो कुरा त त्यहाँ बाटो नै निश्चित गरिएको थिएन,कल्भर्ट बनाएर सडक खोल्ने पो हुन् कि जस्तो लागेको थियो तर न बाटो बन्यो,न कल्भर्ट प्रयोगमै आयो एक स्थानीयले भनिन् बरु प्रयोगमै न आउँदै त्यसै बर्षामा कल्भर्ट भत्कियो ।”


वर्षायाममा सो खोलामा पानीको सतह बढी हुने भएकाले आवात-जावतनै बन्द हुने अवस्था हुने गरेको स्थानीयहरु बताउछन् । शिविरबाट अत्तरिया बजारसम्म किनमेल गर्न आउने तथा विद्यार्थीलाई विद्यालय जान पनि कठीनाई हुने गरेको उनिहरुको गुनासो छ । सहज आवतजावतका लागि बनाईएको पुल भत्कीए पछि सरकारी रकम बालुवामा पानी हाले झै भएको स्थानीयको आरोप छ ।
सो क्षेत्रमा सहज आवत जावतका लागि पुल निमार्ण गरि दिनु पर्ने उनीहरुको माग रहेको छ । गोदावरी नगरपालिका वडा नम्बर १० का अध्यक्ष रविन्द्र शाहीले सो पुल आफु संग समन्वयनै नगरी बनाएको बताए । तत्कालीन नगर प्रमुख हरी सिंह साँउदले अर्कै ठाउँको लागि आएको योजना एकलौटी गरेर दुरुपयोग गरेको उनको भनाई छ । निमार्णका बेला कुनै समन्वयनै नभएका कारण कल्भर्ट प्रयोगहिन बनेको उनले बताएका छन् ।


































