
बैतडी:

“स्वास्थ्यका लागि खेलकुद : राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ बैतडी जिल्लाको मेलौली भगवती माताको खेलकुद मैदानमा माघ २६ गते देखि २८ गते सम्म सञ्चालन भएको १४ औँ बैतडी जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सिगास गाउँपालिकाका १६ वर्षिय रेमन विक भलिबल विधामा बैतडी जिल्लामै उत्कृष्ट चुनिएका छन् । छात्र तर्फको भलिबल प्रतियोगितामा च्याम्पियन बनेको सिगास गाउँपालिकाका रेमन विकले सुरुवात देखि नै कडा मेहनत गरिरहेका थिए ।

रेमन विकले भलिबल प्रतियोगितामा फाइनलमा निकै उत्कृष्ट प्रदर्शन गर्न सफल भएका थिए । सिगास गाउँपालिकाले दशरथ चन्द नगरपालिकाका विरुद्ध पहिलो सेट २५–१४ ले हात पारेको थियो भने सिगास गाउँपालिकाले दोस्रो सेट १३–२५ ले हार वेहोर्नु पर्यो । तेस्रो तथा निर्णायक सेटमा सिगास गाउँपालिकाले कडा प्रतिस्पर्धाका बिच २२–२५ ले अन्तिम सेट आफ्नो पक्षमा पार्दै सिगास गाउँपालिका च्याम्पियन बनेको हो ।

शारदा माध्यमिक विद्यालय ढुङ्गाडमा कक्षा ९ मा अध्ययन गरिरहेका रेमन विकको भलिबलमा राम्रो सम्भावना रहेको सिगास गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख रमेश प्रसाद भट्टले जानकारी दिए ।






























