
पश्चिम एशियाली फुटबल एसोसिएसन (वाफ) महिला च्याम्पियनसिपको फाइनलमा नेपाली टोली पराजित भएको छ । बिहीबार राति साउदी अरेबियामा खेलिएको फाइनल खेलमा बलियो प्रतिद्वन्द्वी जोर्डनले नेपाललाई पेनाल्टी सुटआउटमा ५-३ गोलले हराउँदै उपाधि चुमेको हो ।

बिहीबार राति साउदी अरेबियामा भएको उपाधि भिडन्तमा नेपाल जोर्डनसँग पेनाल्टी सुटआउटमा ५-३ गोलले पराजित हुँदा लगातार एघारौं फाइनलमा पनि उपाधि जित्न सकेन। नेपालले सन् २०१० यता मुख्य प्रतियोगितामा एघार पटक फाइनलमा स्थान बनाए पनि उपाधि भने जित्न सकेको छैन।
पेनाल्टीमा नेपालका लागि गीता राना, दीपा शाही र हिराकुमारी भुजेलले गोल गरेका थिए। तर चौथो पेनाल्टी हानेकी अमृती जैशीको प्रहारलाई जोर्डनकी गोलकिपरले विफल पारिन्।




खेलपछि नेपाली टोलीकी सदस्य दीपा शाहीले निर्धारित समयमा राम्रो खेलपनि पेनाल्टीमा पुगेर पराजित हुनुपरेको भन्दै भावुक बनेकी थिइन् । उनले सावित्रा भण्डारीलाई मिस गरेको बताइन् । ‘हामीले ९० मिनेटमा फाइट गर्यौँ राम्रो गर्यौँ । तर खेल पेनाल्टीमा गयो । हामीले साम्बा दिदीलाई मिस गर्यौँ । पेनाल्टी खेलको पार्ट हो र हामी पराजित भयौँ । सबै समर्थकलाई धन्यवाद ।’
नेपाली टिमका नियमित सदस्य तथा मुख्य गोलकर्ता सावित्रा भण्डारी क्लब ड्युटीका लागि फ्रान्स गएपछि मुख्य प्रशिक्षक राजेन्द्र तामाङले नेपालको प्लेइङ ११ मा तीन परिवर्तन गरेका थिए । सावित्रासँगै अनिता बस्नेत र अनिता केसीको स्थानमा रश्मि कुमारी घिसिङ, दीपा शाही र सविता राना मगर पहिलो रोजाईँमा खेलेका थिए ।
नेपाललाई हराएसँगै छैटौ पटक उपाधि जितेको जोर्डन नेपालभन्दा बलियो टिम हो। जोर्डन फिफा महिला वरीयतामा ७४औं स्थानमा छ। नेपाल भने १०५औं स्थानमा छ।



































