
अत्तरिया : नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) पार्टीले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले राप्रपा र स्वतन्त्र प्रदेशसभा सदस्यलाई मन्त्रीको प्रस्ताव गरेका छन् ।

नागरिक उन्मुक्ति पार्टीसहितको सरकार बनाउन सहमती भइसकेको भन्दै शाहले राप्रपाकी खेमादेवी बिष्ट र स्वतन्त्र प्रदेशसभा सदस्य तारादत्त जोशीलाई मन्त्री बन्न प्रस्ताव गरेका हुन् । उनीहरु दुवै जनालाई बिहीबार नै मन्त्रीमा नियुक्त गर्ने भन्दै मुख्यमन्त्री शाहकै आग्रहमा अछाम जान लागेका प्रदेश प्रमुख देवराज जोशी डडेल्धुराबाट फर्किरहेका छन् ।
नेकपा (एकीकृत समाजवादी) ले छाडेको आर्थिक मामिला मन्त्री स्वतन्त्र सांसद जोशीलाई प्रस्ताव गरिएको स्रोतले जनाएको छ भने राप्रपालाई सामाजिक विकास वा उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय लिन प्रस्ताव गरिएको छ ।
राप्रपाका एक नेताले मुख्यमन्त्री र नागरिक उन्मुक्ति पार्टी समेतबाट मन्त्रीको प्रस्ताव आएको पुष्टि गर्दै त्यसबारे कुनै निर्णय नभएको बताए । पर्ख र हेरको अवस्थामा रहेको भनिएको नागरिक उन्मुक्ति पार्टीले समेत राप्रपालाई सरकारमा सामेल हुन आग्रह गरेको छ । स्वतन्त्र प्रदेशसभा सदस्य जोशीले भने नाउपाको भूमिका प्रष्ट भइनसकेका कारण अहिले नै सरकारमा जानेबारे निर्णय लिइनसकेको बताएका छन् ।
तर मुख्यमन्त्री शाहले भने बिहीबार रातिसम्म भएपनि दुवै जनालाई मन्त्रीमा नियुक्त गर्नेगरि प्रदेश प्रमुखलाई बाटोबाटै फर्किन आग्रह गरेका हुन् । प्रदेश प्रमुख जोशी बैद्यनाथ धाममा लागेको कोटिहोमको समापन समारोहमा सहभागी हुन जादै थिए । उनी बाटोबाटै फर्र्किएको प्रदेश प्रमुखको कार्यालयले पुष्टि गरेको छ । सुदूरपश्चिममा मुख्यमन्त्री शाहलाई कांग्रेसका १८ र नागरिक उन्मुक्ति पार्टीका ७ जना प्रदेशसभा सदस्यको समर्थन छ । राप्रपा र स्वतन्त्र सांसद सरकारमा सामेल भए उनको पक्षमा २७ जना बहुमत सांसद पुग्छन् ।





























