
अत्तरिया: सुदूरपश्चिम प्रदेशका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) रविन्द्र केसीले अपराध अनुसन्धानका लागि छुट्टै टोली गठन गरेका छन् ।

तत्कालीन डीआईजी भरतबहादुर बोहराले प्रदेश अनुसन्धान समूह (आरआईटी) खारेज गर्दै पुर्नगठन गरेको पृष्ठभूमिमा आरआईटीलाई खारेज गर्दै अहिलेका डीआईजी केसीले प्रोभेन्स इन्टेलिजेन्स टीम नाम दिएर छुट्टै टोली गठन गरेका हुन् । उनले प्रहरी नायब निरीक्षक (सई) को नेतृत्वमा चार जना प्रहरी कर्मचारी रहनेगरि प्रोभेन्स इन्टेलिजेन्स टिम (पिआईटी) गठन गरिएको जानकारी दिए । उक्त टोलीले प्रदेशका अपराध अनुसन्धान, सहायता र अनुगमन, लागुऔषध, चोरी तस्करी नियन्त्रण र कानुन कार्यान्वयनमा काम गर्ने केसीले बताए ।
पिआईटीमा प्रदेशमा उपलब्ध भएसम्म अपराध अनुसन्धानमा विज्ञ, आईटी विज्ञ र सहयोगी प्रहरीलाई समावेश गरिएको उनी बताउँछन् । उक्त टोलीलाई प्रदेशभरको अनुसन्धानको दिशा कसरी गइरहेको छ ? भनेर अनुगमन गर्ने तथा परामर्श दिने अधिकार समेत दिइएको छ । आवश्यकता अनुसार पिटीआईको स्तर बृद्वि गर्दै लगिने समेत सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
विगतमा प्रदेश प्रहरी कार्यालयले प्रदेश अनुसन्धान समूह (आरआईटी) गठन गरेको थियो । तर केसी भन्दा अघि प्रदेश प्रहरीको नेतृत्व गरेका डीआईजी बोहराले आरआईटी खारेज गरेका थिए । लगत्तै पुर्नगठन गरेपछि आफू अनुकुलका प्रहरी राखेको आरोप लागेको थियोे ।
केसी प्रदेश प्रहरीको प्रमुख भएर आएपछि आरआईटीमा कार्यरत प्रहरी कर्मचारीको काम सन्तोशजनक नदेखिएपछि जिम्मेवारी हेरफेर गरेका थिए । जिम्मेवारी हेरफेर गर्दा समेत परिणाम नदेखिएपछि खारेज गर्दै पीटीआई गठन गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।





























