
धनगढी ः प्रदेश स्तरीय नृत्य तथा गायन विधाको प्रतियोगिता एसईई आइडलको चौथो संस्करणको आज एक कार्यक्रम बिच उद्घाटन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति तथा संस्कृतिविद् डा. टी.एन. जोशीले पानसमा दियो बालेर कार्यक्रमको उद्घाटन गरेका हुन् ।

अक्सफोर्ड युनिभर्स मा.वि. बोराडाँडी धनगढीमा भएको उद्घाटन कार्यक्रमसँगै आइडलको पहिलो अडिसन पनि आयोजना गरिएको छ । अडिसनमा सहभागी गायन विधाका २ र नृत्य विधाका २ गरि जम्मा ४ प्रतिस्पर्धीले यस पछिको चरणमा प्रवेश पाएका छन् ।
कार्यक्रममा प्रभात मिडियाका अध्यक्ष प्रकाश बहादुर छेडाल, अक्सफोर्ड युनिभर्स मा. वि. बोराडाँडीका संचालक समितिका अध्यक्ष नर बहादुर भण्डारी, गोल्डेन एजुकेशनका प्रबन्ध निर्देशक केशर रावल लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि उपकुलपति डा. जोशीले राज्यले गर्नुपर्ने कला संस्कृति जगेर्ना र कला विस्तारको काम निजी क्षेत्रबाट हुनु सह्रानीय भएको बताए । उपकुलपति जोशीले यस कार्यक्रममा सुदूरपश्चिम प्रज्ञा-प्रतिष्ठान प्रबर्द्धकको रूपमा रहने बताए । गत तीन संस्करणको भव्य सफलतापछि आयोजित एसईई आइडलको चौथो संस्करणको सुपका ९ जिल्लाका ३० भन्दा बढी स्थानहरुमा अडिसनहरुमा आयोजना गरिनेछन् । यस वर्ष एसईई दिने विद्यार्थीहरुले अडिसनमा सहभागी हुन पाउनेछन् ।


यस वर्ष पनि गत बर्ष जस्तै नृत्य र गायन प्रतिभाहरुले आफ्नो प्रतिभा प्रतिस्पर्धात्मक प्रदर्शन गर्न पाउनेछन् । असोज देखि फागुनसम्म सुपमा ९ जिल्ला भरि नै अडिसन प्रतियोगिताहरु संचालन हुनेछन्। जहाँबाट नृत्य र गायन विधाका उत्कृष्ट ३०-३० जना प्रतिस्पर्धीहरुले २०८२ बैशाखमा हुने दोस्रो चरणमा प्रवेश पाउनेछन् भने दोस्रो चरणमा उत्कृष्ट हुने नृत्य र गायन विधाबाट १५(१५ जना प्रतिस्पर्धीहरुले २०८२ असार १ गते हुने फाईनलमा प्रवेश पाउनेछन् । फाईनलबाट दुवै विधामा १-१ जना विजेता र १-१ जना उपविजेता बन्नेछन् । दुवै विधाका विजेता र उप विजेताले क्रमशस् रु. ७५-७५ हजार र रु ३५-३५ हजार सहित कक्षा ११ र १२ मा पूर्ण छात्रवृत्ति पाउनेछन् । साथै दुवै विधाका उत्कृष्ट ५ भित्र पर्ने अन्य प्रतिस्पर्धिहरुले कक्षा ११-१२ मा आंशिक छात्रवृत्ति पाउनेछन् ।
थप अडिसन स्थलहरुको खोजी भईरहेकोले यस प्रतियोगितामा सहभागी हुन ईच्छुक विद्यार्थी तथा विद्यालयहरुलाई सम्पर्क गर्न आयोजकले अनुरोध गरेको छ ।






























