
धनगढी – कैलालीको धनगढीमा मंगलबार दिउँसो वायु गुणस्तर खतरनाक अवस्थामा पुगेको छ। वातावरण विभागका अनुसार दिउँसो १ बजे वायुको गुणस्तर सूचकांक (एयर क्वालिटी इन्डेक्स – एक्यूआई) ३५३ मापन गरिएको छ, जसलाई विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले स्वास्थ्यका लागि खतरनाक मानेको छ।


धनगढीमा पीएम २.५ को उच्च मात्रा
धनगढीको वायुमा पीएम २.५ (पर्टिकुलेट म्याटर) को मात्रा १४९ माइक्रोग्राम प्रतिघनमिटर पुगेको छ। डब्ल्यूएचओका अनुसार पीएम २.५ को मात्रा ५ माइक्रोग्राम प्रतिघनमिटरभन्दा माथि भए वायु अस्वस्थकर मानिन्छ।
अन्य क्षेत्रहरूको अवस्था
- ललितपुरको खुमलटारमा एक्यूआई १५२ र पीएम २.५ को मात्रा ५१.६
- धनुषाको जनकपुरमा एक्यूआई १८२ र पीएम २.५ को मात्रा १२२
- धनकुटामा एक्यूआई १५३ र पीएम २.५ को मात्रा ६४.६
यी सबै स्थानहरू विश्व स्वास्थ्य संगठनले अस्वस्थकरको सूचीमा राखेको छ।
वायु प्रदूषणको असर
पीएम २.५ का कण वायुमण्डलमा रहेका आँखाले देख्न नसकिने साना कण हुन्, जसले मानव स्वास्थ्यमा गम्भीर असर पुर्याउँछन्। कार्बनमोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइड लगायतका हानिकारक कणहरूले श्वासप्रश्वासको समस्या निम्त्याउने र दीर्घकालीन स्वास्थ्य समस्या सिर्जना गर्ने जोखिम रहन्छ।
सावधानी अपनाउन आग्रह
वायुको गुणस्तर खतरनाक भएकाले स्थानीयलाई स्वास्थ्य सावधानी अपनाउन, घरबाहिर ननिस्कन र विशेषगरी बालबालिका, वृद्धवृद्धा तथा दीर्घरोगीलाई सतर्कता अपनाउन विशेषज्ञहरूले सिफारिस गरेका छन्।































