
नेकपा एमालेका ५९ जना नेता–कार्यकर्ताले डा. भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानलाई समर्थन गर्ने घोषणा गरेका छन्। उनीहरूले संयुक्त विज्ञप्ति जारी गर्दै रावलको पक्षमा उभिने निर्णय गरेको जानकारी दिएका छन्।

विज्ञप्तिमा एमाले केन्द्रीय पर्यटन विभाग सदस्य रमेश बहादुर कुँवर, सुदूरपश्चिम प्रदेश कमिटी सदस्य चक्र रावल, जंग विक, केशर मियाँ, निर्मला रावल लगायतका नाम उल्लेख छन्।
डा. भीम रावललाई अनुशासन उल्लंघनको आरोपमा नेकपा एमालेको २०८१ पुस १० गतेको सचिवालय बैठकले पार्टीबाट निष्कासन गरेको थियो। रावलको समर्थनमा उभिएका नेता–कार्यकर्ताहरूले यस निर्णयलाई ‘स्वेच्छाचारी’ र अध्यक्ष केपी शर्मा ओलीलाई ‘सत्ता उन्मादी’ भन्दै आलोचना गरेका छन्।




विज्ञप्तिमा भनिएको छ, “समाजवाद त टाढाको कुरा भयो, देशभक्ति र जनताप्रतिको प्रतिबद्धता समेत नष्ट गरिएको छ। कम्युनिष्ट र समाजवाद विरोधीहरूसँग सहकार्य गर्दै पार्टीलाई सिद्धान्तहीन, आदर्शहीन र गन्तव्यहीन यात्रामा धकेल्ने ओली गुटको नेतृत्वमा बस्नुको कुनै औचित्य छैन।”
यो कदमले एमालेभित्र आन्तरिक कलहलाई थप सतहमा ल्याएको छ भने रावल नेतृत्वको अभियानलाई नयाँ उर्जा दिएको छ।



































