सहरले खोस्यो गाउँको खुसी

Image
Nisarga Hospital

दिपेन्द्र धामी- बझाङ

CP Hospital Dhangadhi

समयका चक्रहरू घुम्दै ढुङ्गेयुग, बर्बरयुग, सभ्ययुग हुँदै आधुनिक युगसम्म आइपुग्दा मानिसले अनेकौं परिवर्तनको सामना गरिसकेको छ। समाज निर्माण गर्दै, विभिन्न धर्म, भाषा, र संस्कृतिलाई आत्मसात् गर्दै जीवनलाई अघि बढाइरहेको छ। तर जब आधुनिकताको नाममा गाउँका मानिसहरू सहरतर्फ आकर्षित हुन थाले, तब गाउँले जीवनको वास्तविक खुसी सहरले खोस्न थाल्यो।

गाउँहरू कहिल्यै पहिले जस्तो रहन सकेनन्। सहरले मात्र भौतिक सुख-सयल र अवसरको सपना देखाएर गाउँका मानिसलाई तान्यो, तर यसको बदलामा गाउँको मौलिकता, संस्कार, परम्परा, भाषा, रहन-सहन, अनि आत्मीय सम्बन्धहरू सहरले नै लुटेर लग्यो। गाउँले जीवनशैली धीरे-धीरे हराउँदै गयो।

nawajiwan

गाउँमा जन्मेका साना बालबालिकाहरू अब आफ्नै परम्परा र संस्कृति बिर्सन थालेका छन्। पहिले हरेक घरमा परम्परागत चाडपर्वहरू भव्य रूपमा मनाइन्थ्यो। दशैं, तिहार, माघी, ल्होसार, उधौली-उभौली जस्ता पर्वहरू गाउँलेहरूका लागि पहिचानका रूपमा थिए। तर, जब गाउँका परिवारहरू एकपछि अर्को गर्दै सहर बसाइँ सर्न थाले, यी संस्कृतिहरू पनि क्रमशः हराउँदै गए।

पहिले गाउँका गल्लीहरूमा गुन्जिने लोक गीतहरू, देउसी-भैलो, रोपाइँ गीतहरू, जात्रा-पर्वहरूको उल्लासपूर्ण माहोल अब केवल सम्झनामा सीमित हुन थालेका छन्। आधुनिक शिक्षा र शहरी जीवनशैलीले गाउँका युवा पुस्तालाई आफ्नो मौलिक पहिचानबाट नै टाढा पुर्याइरहेको छ। सहरमा जन्मेका नयाँ पुस्ताले आफ्नै गाउँको संस्कृति चिन्दैनन्, न त गाउँको भाषा नै बोल्न सक्छन्।

गाउँका कलिला बालबालिकाहरूको भविष्य उज्यालो बनाउने नाममा सहरमा बसाइँ सर्ने क्रम तीव्र बनेको छ। अभिभावकहरू आफ्ना छोराछोरीलाई राम्रो शिक्षा दिने उद्देश्यले सहर झर्छन्। तर, गाउँमा नै गुणस्तरीय शिक्षाको व्यवस्था नहुँदा यो बाध्यता बनेको छ।

तर, सहरले तिनै बालबालिकाको प्राकृतिक जीवनशैली खोस्छ। खुला वातावरणमा रमाउने, हरियालीमा हुर्किने, आफ्नै संस्कृतिमा जरा गाडेर हुर्कने अवसर उनीहरूले गुमाउँछन्। प्रतिस्पर्धात्मक जीवनशैली, तनावपूर्ण शिक्षा प्रणाली र कृत्रिम वातावरणले उनीहरूको मानसिक स्वास्थ्यमा असर पुर्याइरहेको छ।

सहरतर्फ बसाइँसराइ गर्दा गरिब वर्गलाई ठूलो समस्या पर्दछ। गाउँमा आत्मनिर्भर रूपमा उत्पादन गरेर जिविकोपार्जन गरिरहेका किसानहरू, मजदुरहरू, दैनिक ज्यालादारीमा काम गर्नेहरू सबै क्रमशः सहरतर्फ धकेलिएका छन्।

सहरका महँगा बजारमा गरिबहरूले आफ्नो श्रम बेचेर खाद्यान्न जुटाउनुपर्छ। पहिले गाउँमा आफ्नै उत्पादन प्रयोग गर्ने किसानहरू अब सहरको बजारबाट महँगा मूल्यमा चामल, दाल, तरकारी किन्ने बाध्यतामा छन्। गाउँमा कम खर्चमा गुजारा चल्ने अवस्था थियो, तर सहरमा महँगीले गर्दा गरिब वर्ग झन् गरिब हुँदै गएका छन्।

स्वास्थ्य सेवा सुविधा गाउँमा पर्याप्त नभएका कारण गम्भीर बिरामीहरू उपचारका लागि सहर जान बाध्य हुन्छन्। कतिपय बिरामीहरू उपचार गराएर फर्किन्छन्, तर कतिपय त्यहीँ बित्छन्।

गाउँमा गुणस्तरीय स्वास्थ्य सेवा अभावमा सामान्य रोगले पनि मानिसको ज्यान जान्छ। शहरमा उपचारका लागि ठूलो रकम खर्च गर्नुपर्ने भएकाले गरिब परिवारहरू आर्थिक भारले झनै पीडित हुन्छन्। गाउँमा रहेको प्राकृतिक जीवनशैली नै स्वास्थ्यको लागि अनुकूल थियो, तर मानिसहरू सहरतिर लहसिँदा प्रदूषित हावा, अस्वस्थ खानपान र तनावपूर्ण जीवनशैलीले उनीहरूको स्वास्थ्य अवस्था झन् बिग्रिएको छ।

Attariya Hospital

गाउँका किसानहरूले उत्पादन गरेका अन्न, तरकारी, फलफूल सबै सहरका ठूला बजारले कब्जा गरेका छन्। गाउँले उत्पादन गरिएको जैविक खाद्य सामग्री शहरमा महँगा भाउमा बेचिन्छ, तर उत्पादन गर्ने किसानहरूले न्यून मूल्यमा आफ्नो उत्पादन बेच्न बाध्य हुन्छन्।

सहरका महँगा सुपरमार्केटहरूमा बेच्नका लागि गाउँले उत्पादनको दोहन भइरहेको छ, तर वास्तविक उत्पादकले आफ्नो पसिनाको मूल्य पाउँदैन। गाउँमा राम्रो मूल्य नपाउने भएपछि कृषकहरू नै निरुत्साहित भएका छन्, जसले गर्दा गाउँहरू कृषिमा आत्मनिर्भर बन्न सकेका छैनन्।

गाउँमा बाँच्ने वृद्ध माता-पिताको जीवन झनै कठिन बन्दै गएको छ। सहरमा बस्ने नाममा छोराछोरीहरू आफ्ना आमाबुबालाई गाउँमै एक्लै छोडेर गएका छन्।

पहिले पूरै परिवार मिलेर जीवन बिताउने चलन थियो। बुढेसकालमा सन्तानसँग बसेर सुख दुःख साट्ने अवसर पाइन्थ्यो। तर, आजकल वृद्धहरू गाउँका सुनसान घरमा एक्लै जीवन बिताउन बाध्य छन्।

सहर गएपछि सन्तानले आफ्ना आमाबुबासँग बिताउने समय नै पाउँदैनन्। आधुनिक जीवनशैलीमा व्यस्त बनेका उनीहरूका लागि आफ्ना बुढा आमाबुबा दोश्रो प्राथमिकता मात्र बनेका छन्। यसरी सहरले उनीहरूको भरोसा, माया, प्रेम, स्नेह सबै खोसिदिएको छ।

सहरले गाउँका धेरै कुरा खोसेर लगिसकेको छ। तर अब गाउँमा नै विकासको पूर्वाधार तयार गर्नुपर्ने समय आएको छ। गाउँलाई आत्मनिर्भर बनाउन, शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार विकास गर्न जरुरी छ।

गाउँमा नै राम्रो स्कुल, कलेज, अस्पताल, रोजगारीका अवसर, आधुनिक कृषि प्रविधि ल्याएर गाउँलाई शहरतर्फ पलायन हुनबाट जोगाउनुपर्छ। सरकार, स्थानीय निकाय, समाजसेवी र सचेत नागरिकहरूले गाउँको उत्थानका लागि पहल गर्नुपर्छ।

गाउँमा नै आत्मनिर्भर अर्थतन्त्रको विकास गर्न सकियो भने मात्रै गाउँका मान्छेहरू खुशी हुन सक्छन्। संस्कार, संस्कृति, परम्परा जोगाइराख्न सकिन्छ। अब हामी सबै मिलेर गाउँ फर्कने समय आएको छ।

अब गाउँलाई नै सहरको जस्तै विकास गरेर, आत्मनिर्भर बनाई गाउँकै खुसी फिर्ता ल्याउनुपर्छ। गाउँले जीवनशैलीलाई सम्मान गर्दै, आधुनिकताको नाममा जरा गुम्न नदिने प्रयास गर्न जरुरी छ। गाउँको पहिचान जोगाउन अब हामी सबैले अघि बढ्नुपर्छ।

लेखक:- धामी बझाङको केदारस्यूँ गाउँपालिका ८ का स्थानीय हुन् । उनले समसामयिक बिषयमा कलम चलाउँछन् ।
सम्पर्क नं ९७६५९१८६४५