
बिरामी भएर अस्पतालको ओछ्यानमा पल्टिनु कष्टकर त छ नै, तर त्यो ओछ्यानको छेउमा बसेर बिरामी कुरिरहेको कुरुवाको मनमा कस्तो छटपटी चल्छ, त्यो भोग्नेलाई मात्र थाहा हुन्छ। बिरामी त मृत्युसँग लडिरहेका हुन्छन्, तर कुरुवाले भने जीवनका हजारौँ चुनौतीहरूसँग एकैपटक पौँठेजोरी खेल्नुपर्छ।


कुरुवाको मनमा अनेक प्रश्नहरूको ज्वारभाटा उठिरहन्छ— कुन ठाउँको गाडी चढ्ने? कहाँको खाना खाने? कुन डाक्टरलाई देखाउने? र सबैभन्दा महत्वपूर्ण, उपचारको लागि पैसा कसरी जुटाउने? बिरामी बाँच्ने हो कि मर्ने भन्ने डर एकातिर हुन्छ भने, अर्कोतिर घरको चिन्ता, आफ्नो काम र भविष्यको अन्योलले कुरुवालाई पिरोलिरहन्छ। बिरामीका लागि आवश्यक औषधि र उपचारको जोहो गर्न नसक्दाको त्यो बेसहारापन र छटपटी वर्णन गरिसाध्य हुँदैन।
सुनसान आकाश र घनघोर जङ्गलको बाटो छिचोल्दै, गाडीको ‘पिँपिँ र टिटि’ आवाजबीच महेन्द्रनगर, काठमाडौँ र पोखराका नामहरू सुन्दा मन झस्किरहन्छ। कतै बीच बाटोमै गाडी पल्टिने त होइन? कतै बिरामीको सास बीचमै टुट्ने त होइन? बिरामीको प्राण मुठ्ठीमा कसेर यात्रा गर्ने कुरुवाको मुटुको ढुकढुकी झन् तीव्र हुन्छ।
अस्पताल पुगेपछि पनि सङ्घर्ष सकिँदैन। समयमा अस्पताल पुगिएला कि नपुगिएला? अस्पताल पुगेपछि डाक्टर र कर्मचारीले ‘यो बिल काट्नुस्, त्यो बिल तिर्नुस्’ भन्दै यताउता दौडाउँदाको सास्ती बेग्लै छ। हजारौँ मान्छेको लामो लाइनमा उभिँदा, उता बिरामीको छटपटी देख्दा लाग्छ— आफ्नै आँखा निकालेर दिए पनि हुन्थ्यो, कसैले छिटो काम गरिदिए हुन्थ्यो!
बल्लतल्ल उपचार सुरु त हुन्छ, तर फेरि अर्को चिन्ता थपिन्छ— बिरामी निको हुने हुन् कि होइनन्? झन् त्यसमा पनि रगतको समूह (Blood Group) नमिलेर रगत खोज्नुपर्दा र पैसाको अभाव हुँदा कुरुवाको हतास मनले हार मान्न खोज्छ। हिउँदको कठ्याङ्ग्रिँदो जाडो होस् वा बर्खाको राप र लामखुट्टेको टोकाइ, कुरुवाको लागि रातभरिको साथी त्यही एउटा अस्पतालको कुर्ची मात्र हुन्छ।
बिरामी निको भएर कति दिनमा डिस्चार्ज होलान् भन्ने त्यो अनन्त पर्खाइ। कसैको मान्छे हाँस्दै घर फर्कन्छन्, त कसैको आशाहरू अस्पतालमै अस्ताउँछन्। यस्तो अवस्थामा कुरुवा र घरपरिवारको मनमा कसरी शान्ति मिल्न सक्छ र? तर पनि धेरै संघर्ष बाबजुद मनमा सितलता आयो ।वास्तवमा, बिरामीको कुरुवा बस्नु भनेको एउटा मानिसले अर्को मानिसको लागि लड्ने सबैभन्दा कठिन र भावुक युद्ध रहेछ।
सन्दर्भ विवरण:
स्थान: दार्चुलादेखि महेन्द्रनगर हुँदै अत्तरिया हस्पिटल प्रा. लि. सम्मको यात्रा।
समय: राती १:०० बजे, २०८२/११/२२,२३,२४,२५,२६,२७
✍️लेखक: राजेन्द्र सिंह भण्डारी





























