
डोटी: डोटीको जोरायल गाउँपालिका स्तरीय छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी वडा न.–२ स्थित रामपुर माध्यमिक विद्यालयले जितेको छ ।

माघ १६ गतेदेखि १९ गतेसम्म सञ्चालन रामपुर माविकै खेलमैदानमा सम्पन्न प्रतियोगितामा १६ स्वर्ण, ११ रजत र ९ कास्य पदक सहित प्रथम उपाधी जित्न सफल भएको हो ।
त्यसैगरी घण्टेश्वर माविले ११ स्वर्ण, ११ रजत र ५ कास्य पदकसहित दोस्रो स्थान ओगट्न सफल भएको छ भने ३ स्वर्ण, ४ रजत र ८ कास्य पदक सहित दुर्गा मावि तेस्रो स्थान ओगट्न सफल भएको जोरायल गाउँपालिकाका खेलकुद प्रशिक्षक पवन कुमार शाहुले जानकारी दिए ।

उक्त प्रतियोगितामा जोरायल गाउँपालिकाभित्रका ११ वटा विद्यालयका खेलाडीहरूको सहभागितामा भलिबल, कबड्डी, एथलेटिक्स र कराँते (छात्र/छात्रा) खेलहरु सञ्चालन भएका थिए ।

जोरायल गाउँपालिकाको आयोजनामा सम्पन्न प्रतियोगिताको समापन जोरायल गाउँपालिका सामाजिक विकास समिति संयोजक एवं वडा नम्बर २ का वडा अध्यक्ष वीरबहादुर दर्लामीको सभाअध्यक्षता एवं गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
अध्यक्ष ओझाले खेलकुद विद्यार्थीको शारीरिक तथा मानसिक विकास एवं अनुशासनका लागि महत्त्वपूर्ण भएको र गाउँपालिकाले खेल तथा खेलाडीको विकासमा निरन्तर सहयोग गर्नेमा जोड दिए पहल गरिरहने प्रतिबद्धता सहित विजेता विद्यालय र खेलाडीहरुलाई बधाई व्यक्त गरेका थिए ।
समापनमा बोल्दै वडा अध्यक्ष वीर बहादुर दर्लामीले विद्यार्थीको पढाई र खेलकुदलाई सङ्गसङ्गै लैजानुपर्नेमा जोड दिए । जोरायल गाउँपालिकाभित्र खेलकुदको विकास गर्न आवश्यक पुर्वाधार निर्माणका लागि पनि आफुहरु तयार रहेको दर्लामीले बताए ।






























