
अत्तरिया: कैलालीको गोदावरी नगरपालिका–२, तेघरीमा अवस्थित ज्ञान ज्योति माध्यमिक विद्यालयले वार्षिकोत्सब तथा अभिभावक दिवस भव्य रूपमा मनाएको छ। शुक्रबार गोदावरी नगरपालिका नगर विरेन्द्र भट्टको प्रमुख आतिथ्यमा विद्यालयले भव्य रूपमा २८ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएर सम्पन्न गरेको हो।

विद्यालयका सञ्चालक तथा प्रधानाध्यापक जगविर थापाको सभापतित्वमा आयोजित समारोहका प्रमुख अतिथि गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्ट रहेका थिए भने विशिष्ट अतिथिमा नगर उपप्रमुख शारदा देवी रोकाया रहेकी थिइन्। साथै अत्तरियाका विभिन्न विद्यालयका सञ्चालक, प्रधानाध्यापक, शिक्षक, अभिभावक , समाजसेवी तथा स्थानीय व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

समारोहमा नगर प्रमुख विरेन्द्र भट्टले विद्यालयको सफलताको शुभकामना व्यक्त गर्दै शिक्षा क्षेत्रको विकासका लागि संस्थागत विद्यालयहरूले महत्वपूर्ण भूमिका खेलिरहेको बताए ।
उनले “गुणस्तरीय शिक्षाका लागि सामुदायिक र निजी विद्यालयहरूबीच समन्वय आवश्यक रहेको” बताउँदै नगरले शिक्षालाई पहिलो प्राथमिकता दिँदै विद्यालयहरूको भौतिक तथा शैक्षिक सुधारमा नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे।
गोदावरी नगरपालिका भित्र रहेका संस्थागत बिद्यालयहरुले चिनाउनमा सहयोग पुर्याएको समेत बताएका छन । गोदावरी नगरपालिका भित्र १ मात्र डिग्री लेवल पठाई हुने दुर्गा लक्ष्मीबहुमुखी क्याम्पस संचालनमा संस्थागत देखि अन्य साथीहरुको सहयोगले क्याम्पस संचालनमा रहेको बताएका छन ।
उनले “पहिलेको भन्दा शिक्षा क्षेत्रमा हाल नगरपालिका अब्बल दर्जाको रुपमा अगाडी बढ्ने विश्वास लिएको छु,” भन्दै नगरपालिकाले शैक्षिक क्षेत्रमा उच्च प्राथमिकता दिएको बताए।

यस्तै नगर उपप्रमुख रोकायाले अभिभावकहरूको सक्रिय सहभागिताले विद्यार्थीहरूको शिक्षामा सकारात्मक प्रभाव पार्ने बताउँदै, विद्यार्थी अनुशासन, सिकाइ सुधार, र आधुनिक शिक्षण पद्धतिको प्रयोगमा विद्यालयले ध्यान दिनुपर्ने धारणा व्यक्त गरे।
विद्यालयका प्रिन्सिपल जागबिर थापाले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै, शैक्षिक उपलब्धि, भौतिक पूर्वाधार, विद्यार्थी संख्यामा भएको वृद्धिलगायतका विषयमा जानकारी दिनुभयो। विद्यालय व्यवस्थापन समितिले आगामी वर्षका लागि विद्यालय सुधार योजना प्रस्तुत गरेको थियो।
अभिभावकहरूले विद्यालय व्यवस्थापन, शिक्षण विधि, र विद्यार्थीहरूको सिकाइ सम्बन्धी विभिन्न विषयमा आफ्ना धारणा राखे।
वार्षिकोत्सव समारोहमा नेपालका विभिन्न भेषभूषा झल्कने सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिएको थियो विद्यालयले शिक्षा प्रदानमात्रै नभई संस्कार र संस्कृति जगेर्नामा पनि विद्यालयको विशेष योगदान रहेको छ।
भने सो अवसरमा विद्यालयमा अध्ययनरत शिक्षा लगायत अतिरिक्त क्रियाकलापहरु उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो।
नर्सरी देखि कक्षा १० सम्म संचालन हुदै आइरहेको यस विद्यालयमा ९ सय बढी विद्यार्थीहरु अध्ययनरत छन् । कार्यक्रममा अत्तरियाका विभिन्न विद्यालयका सञ्चालक, प्रधानाध्यापक, शिक्षक, अभिभावक, समाजसेवी तथा स्थानीय व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
यो पनि पढौ !
“नगरमा धेरै विद्यालय खोल्ने प्रतिस्पर्धा नगरौं “: युवा नेता लोक राज पाण्डेय ‘आगो’






































