
नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। आज सुनको मूल्य प्रतितोला चार हजार रुपैयाँले बढेर एक लाख ७४ हजार पाँच सय रुपैयाँ पुगेको छ।

स्थानीय बजारमा बिहीबार सुन प्रतितोला एक लाख ७० हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला दुई हजार ५० रुपैयाँ कायम भएको छ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका प्रथम उपाध्यक्ष धर्मसुन्दर बज्राचार्यका अनुसार सुनको मूल्य आन्तरिक कारणभन्दा बाह्य कारणले वृद्धि भएको हो। उनले अमेरिकी डलरको मूल्यवृद्धि, अन्तर्राष्ट्रिय राजनीतिक घटनाक्रमलगायतका कारणले सुन महँगिएको बताए। ‘अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धिअनुसार स्थानीय बजारमा समायोजन गर्दा हालसम्मकै उच्च मूल्य कायम भएको हो,’ उनले भने।

अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔंस २,९८२ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ।































