डडेल्धुराको परशुराम नगरपालिकाद्वारा ‘छोरी, बुहारी छात्रवृत्ति’ कार्यक्रमको निरन्तरता

Image
Nisarga Hospital

डडेल्धुरा जिल्लाको परशुराम नगरपालिकाले अघिल्लो वर्ष झैं यस आ.व. २०८०/८१ मा पनि ‘छोरी, बुहारी छात्रवृत्ति’ कार्यक्रम सञ्चालन गर्नका लागि दरखास्त आह्वान गरेको छ। सामाजिक तथा शैक्षिक विकासमा महिला सशक्तीकरणलाई प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालन गरिंदै आएको यो कार्यक्रम नगरपालिकाका स्थायी बासिन्दा रहेका छात्राहरू र बुहारीहरूका लागि विशेष अवसर प्रदान गर्ने पहलस्वरूप अगाडि सारिएको हो।

CP Hospital Dhangadhi

यस छात्रवृत्ति कार्यक्रम अन्तर्गत अधिकतम रु. १ लाखसम्मको छात्रवृत्ति उपलब्ध गराइने नगरपालिकाले जनाएको छ। नगरपालिकाले तोकेको मापदण्ड पुरा गर्ने योग्य छात्रा तथा बुहारीहरूले सो अवसर प्राप्त गर्न सक्नेछन्। आर्थिक रूपमा कमजोर, उत्कृष्ट शैक्षिक प्रदर्शन गर्ने वा विशेष परिस्थितिमा रहेका विद्यार्थीहरूलाई प्राथमिकता दिइनेछ।

दरखास्त बुझाउने अन्तिम मिति यो वर्षको चैत्र १७ गतेसम्म तोकिएको छ। तर, सो दिन सार्वजनिक बिदा परेको हुनाले निवेदन दिने आवेदकहरूका लागि उक्त दिनको भोलिपल्टसम्म प्रमाणसहित आवश्यक कागजात बुझाउने सुविधा प्रदान गरिएको छ। इच्छुक व्यक्तिहरूले समयमै सम्बन्धित कागजात संकलन गरी नगरपालिकामा आवेदन दिनुपर्नेछ।

nawajiwan
Attariya Hospital

परशुराम नगरपालिकाका मेयर भरत जोशी यस कार्यक्रमलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्छन्। मेयर जोशी नेपालका कान्छा र वैज्ञानिक सोच भएका मेयरको रूपमा परिचित छन्। उनी २८ वर्षको उमेरमा मेयर निर्वाचित भएका थिए। चीनमा उच्च शिक्षा प्राप्त गरेपछि नेपाल फर्केर सार्वजनिक सेवामा संलग्न भएका जोशीले शिक्षामा प्रवर्द्धन गर्दै परशुराम नगरपालिकालाई समृद्ध बनाउने लक्ष्य राखेका छन्। उनका अनुसार, महिलाहरूलाई आत्मनिर्भर बनाउन शिक्षाको पहुँच बढाउनु अपरिहार्य छ, जसका लागि यो छात्रवृत्ति कार्यक्रम निकै महत्वपूर्ण सावित हुनेछ।

स्थानीय बासिन्दाहरूले यस प्रकारका योजनाहरू नगरपालिकाबाट निरन्तर सञ्चालन भइरहेकामा सन्तोष व्यक्त गरेका छन्। नगरपालिकाले आगामी दिनमा पनि महिलाहरूको शिक्षामा पहुँच अभिवृद्धि गर्ने योजनाहरू ल्याउने बताएको छ।