
अत्तरिया : चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो चौमासिकमा पनि कैलाली भन्सार कार्यालयले निर्धारित राजश्व संकलन गर्न सकेको छैन। मंसिरदेखि फागुनसम्मको अवधिमा सात अर्ब १३ करोड ६१ लाख ४७ हजार रुपैयाँ लक्ष्य रहेता पनि पाँच अर्ब ३४ करोड १९ लाख ४१ हजार मात्रै संकलन भएको छ, जुन वार्षिक लक्ष्यको मात्र ४७.८६ प्रतिशत हो।

भन्सार कार्यालयका अधिकृत तेजबहादुर रावलका अनुसार, मालसामानको आयात न्यून हुँदा राजश्व संकलनमा असर परेको हो। उनले बताए, “धनगढी आउने मालवस्तु पनि नेपालगन्ज, बीरगन्जबाट आइरहेका छन्। भारतीय सीमामा पनि अवरोध छ। बजार सुनसान नै छ। पेट्रोलियम पदार्थबाट मात्रै केही राजश्व बढेको छ।”
चालु वर्षको पहिलो चौमासिक (साउन-कार्तिक) मा पनि भन्सार कार्यालयले तीन अर्ब ५१ करोड ३३ लाख ६२ हजारको लक्ष्यमा दुई अर्ब ४१ करोड ३८ लाख ९५ हजार मात्रै संकलन गरेको थियो, जुन लक्ष्यभन्दा एक अर्ब नौ करोड ९४ लाख ६७ हजारले कम थियो।


गत वर्षको तुलनामा लक्ष्य घटे पनि संकलनमा चुनौती
चालु आर्थिक वर्षको लागि कैलाली भन्सार कार्यालयले ११ अर्ब १६ करोड २६ लाख ३० हजार राजश्व संकलनको लक्ष्य राखेको छ, जुन गत वर्षभन्दा ४१ अर्ब १९ करोड आठ लाख ४० हजारले कम हो। तर पनि, दुबै चौमासिकमा लक्ष्य अनुसारको राजश्व संकलन हुन सकेको छैन।
गत आर्थिक वर्ष २०८०/८१ मा पनि दोस्रो चौमासिकमा सात अर्ब ५६ करोड १६ लाख ५६ हजार लक्ष्यमा पाँच अर्ब एक करोड ३० लाख २० हजार मात्रै राजश्व संकलन भएको थियो। यसरी, गत वर्ष वार्षिक लक्ष्य ११ अर्ब ५८ करोड २४ लाख ७० हजारमा मात्र ६८.३६ प्रतिशत (सात अर्ब ९१ करोड ८० लाख ६८ हजार) राजश्व संकलन भएको थियो।
रावलले यस वर्ष पनि माल आयात नहुँदा वार्षिक लक्ष्य हासिल गर्न गाह्रो हुने बताएका छन्। तथापि, उनको भनाइ अनुसार, गत वर्षको तुलनामा यस वर्ष राजश्व संकलनमा केही वृद्धि भएको छ।































