
आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको खेलमा आरिफ शेखको उत्कृष्ट प्रदर्शनले नेपालले नेदरल्याण्ड्सलाई ५ विकेटले पराजित गर्दै लगातार दोस्रो जित हासिल गरेको छ।

नेदरल्याण्ड्सले प्रस्तुत गरेको २२६ रनको लक्ष्य नेपालले ४७.१ ओभरमा ५ विकेट गुमाउँदै सहज रूपमा पार गर्यो। ओपनिङमा आएका आरिफ शेखले करियरकै सर्वाधिक ७८ रन बनाए, जसका लागि उनले ९९ बल खेल्दै ७ चौका र २ छक्का प्रहार गरे। सुरुवातमा धैर्यपूर्वक खेलेका आरिफले समय अनुसार स्ट्राइक रोटेट गर्दै रन गति पनि बढाएका थिए।
टिमका लागि दिपेन्द्रसिंह ऐरीले नटआउट रहँदै ३८ रन जोडे भने कुशल भुर्तेलले २५, कप्तान रोहित पौडेलले २३, र गुल्शन झाले विजयी छक्का प्रहार गर्दै अविजित ११ रन बनाए। यसअघि, ओपनर आसिफ शेखले १९ तथा भीम सार्कीले ११ रनको योगदान दिए।


आरिफ शेखले कप्तान रोहितसँग मिलेर चौथो विकेटका लागि ५५ रनको साझेदारी गरेका थिए। रोहित रनआउट भएपछि नेपाल १२३ रनमा ४ विकेट गुमाएको अवस्थामा थियो। त्यसपछि आरिफले ऐरीसँग मिलेर ८९ रनको महत्त्वपूर्ण साझेदारी गर्दै नेपाललाई जितको नजिक पुर्याएका थिए।
बलिङतर्फ नेदरल्याण्ड्सका माइकल लेभिटले २ विकेट लिए भने भिभियन किङमा र पल भान मिकेरनले १–१ विकेट हात पारे।































