
हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय छ भने मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।


कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका धेरै स्थानहरूमा र अन्य क्षेत्रका केही स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यी चार प्रदेशका एक-दुई स्थानमा भारी वर्षा पनि हुन सक्ने सम्भावना छ। उच्च पहाडी र हिमाली भेगमा हल्कादेखि मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको छ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका थोरै स्थानहरूमा हावाहुरी चल्न सक्ने देखिएको छ।
आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी प्रदेशका केही, मधेश प्रदेशका थोरै र अन्य क्षेत्रका एक-दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ।
महाशाखाले सतर्कता अपनाउन तथा आवश्यक सतर्कतामूलक उपायहरू अवलम्बन गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ।
































