
कैलाली कारागारमा भएको हिंसात्मक घटनाको झन्डै ४२ घण्टापछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुरक्षा संयन्त्रको बैठक डाकेका छन्। आइतबार साँझ मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आन्तरिक मामिला तथा कानून मन्त्री हिरा सार्की तथा चारै सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको बैठक बसेको हो।

शुक्रबार राति भएको कैदीबन्दीबीचको झडपमा एक जनाको मृत्यु भएको छ भने ४८ जना घाइते भएका छन्। घाइतेमध्ये एक जनालाई बाहिर रेफर गरिएको छ। १५० जनाको क्षमता भएको कारागारमा ७०० कैदीबन्दी रहेका कारण अवस्था झन् जटिल बनेको छ। मानव अधिकार आयोगको टोलीले घटनास्थलमा पुगेर कैदीबन्दीको गणना गर्दा सबै सङ्ख्या मिलेको जनाएको छ।
घटनापछि मानव अधिकार आयोगको टोलीसहित नेपाल प्रहरी र सशस्त्र प्रहरीले कारागारको ब्लक ‘ए’ र ‘बी’ मा प्रवेश गरी निरीक्षण गरिसकेका छन्।


प्रदेशमा ठूलो घटना हुँदा पनि मुख्यमन्त्रीले चासो नदिएको आरोप लागिरहेका बेला शाहले बैठक डाकेका हुन्। बैठकमा प्रदेश प्रहरी प्रमुख डम्मर विक, सशस्त्र प्रहरी प्रमुख प्रदीप पाल, नेपाली सेनाका पृतनापति प्रकाश देउजा, कैलालीका प्रमुख जिल्ला अधिकारी गोगन हमाल तथा अनुसन्धानका प्रदेश प्रमुख सहभागी थिए।
मानव अधिकार आयोग सुदूरपश्चिम प्रमुख प्रकाश भट्ट पनि केही समय बैठकमा सहभागी भएर कारागारको अवस्थाबारे जानकारी दिएका थिए। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले भने मुख्यमन्त्रीले घटनाप्रति सुरुबाटै चासो राखेको दाबी गरेको छ।
































