
बाँके:जिल्लाको नेपालगञ्ज उप–महानगरपालिका वडा नं. ८ को रानी तलाउ नजिकै सडक किनारमा सजाएर राखिएका सयौं माटोका भाँडाहरूले यहाँको मौलिक सीप, संस्कृति र पहिचानलाई झल्काइरहेका छन्।

पानी राख्ने गाग्री, कलश, गिलास, हाँडी, दीयो, फूल राख्ने थालदेखि अनगिन्ती कलात्मक सामग्रीसम्म सजाएर राखिएका यी भाँडाहरू केवल बिक्रीका लागि मात्र नभई समुदायको जीवनशैली र मेहनतको प्रतिविम्ब बनेका छन्।
•महिलाको योगदान र आत्मनिर्भरता:
यस व्यवसायको मूल आधार स्थानीय महिलाहरूको सीप र परिश्रम हो। उनीहरू केवल व्यापारी मात्र होइनन्-शिल्पकार, उत्पादनकर्ता र घरपरिवारका आर्थिक आधार पनि हुन्। परम्परागत अनुभको भरपर्दै उनीहरूले तालिम वा प्रविधि बिना नै आफ्नै हातले माटोलाई जीवन दिँदै आएका छन्।


•माटोको भाँडोको महत्व:
पर्यावरणमैत्री जीवनशैली खोज्ने नयाँ पुस्ताका लागि माटोका भाँडाहरू उत्तम विकल्प हुन्। प्लास्टिक वा स्टीलको तुलनामा माटोको गाग्रीले पानी चिसो मात्र राख्दैन, ताजा र स्वास्थ्यवर्धक पनि बनाउँछ। साथै यी भाँडाहरू जैविक रूपमा नष्ट हुने भएकाले वातावरणलाई हानी पुर्याउँदैनन्।
•संस्कृति र परम्पराको जगेर्ना:
माटोका भाँडाहरू हाम्रो संस्कृतिको अभिन्न अङ्ग हुन्। विवाह, न्वारान, पूजा, तीज–छठ जस्ता पर्वमा यसको प्रयोग अनिवार्यजस्तै हुँदै आएको छ। आधुनिकता र शहरीकरणको लहरमा हराउँदै गएको यो परम्परागत सीपलाई नेपालगञ्ज–८ का स्थानीय महिलाले फेरि जीवित राख्ने काम गरिरहेका छन्।


•चुनौती र सम्भावना:
माटोको भाँडो बनाउन माटो संकलन, लिपाइ, घाममा सुकाउने, आगोमा पकाउनेजस्ता श्रमसाध्य चरणहरू आवश्यक पर्छन्। तर बजारमा पर्याप्त प्रचार–प्रसार नहुँदा मूल्य निर्धारण र बिक्री चुनौतीपूर्ण बनेको स्थानीयहरू बताउँछन्।
यदि स्थानीय सरकार, सहकारी संस्था वा युवा समूहले यस्ता घरेलु उत्पादनलाई प्रवर्द्धन गर्ने हो भने यसले रोजगारी सिर्जना, संस्कृतिको संरक्षण र आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्याउन सक्ने विज्ञहरूको भनाइ छ।
नेपालगञ्ज ०८ मा देखिएको माटोको भाँडाको व्यापार केवल व्यवसाय मात्र होइन-यो इतिहास, सीप र सामाजिक आत्मनिर्भरताको प्रतीक हो। यसलाई जोगाउने जिम्मेवारी सम्पूर्ण समाजको भएको स्थानीयवासीको भनाइ छ।

“स्थानीय उत्पादनलाई माया गरौं, माटोको भाँडो किनौं, परम्परा जोगाऔं।”
































