
धनगढी : बझाङको केदारस्यूँ गाउँपालिका–७ स्थित सुगुरे घुम्तीमा शनिबार भएको बोलेरो जिप दुर्घटनाले एक परिवारको खुसी केही घण्टामै गहिरो शोकमा परिणत भएको छ। तीन दिनदेखि हराएकी ६० वर्षीया कुटुरीदेवी महत जीवितै फेला परेपछि खुसीले भरिएको परिवार गाउँ फर्किने क्रममा भएको दुर्घटनामा उनी, उनकी छोरी विमला महत धामी र देवर चक्र महतको ज्यान गएको हो।


कुटुरीदेवीका श्रीमान् प्यारुलाल महतको गत जेठ २६ गते निधन भएपछि उनी मानसिक रूपमा विक्षिप्तजस्तै बनेकी थिइन्। बिहीबार घाँस काट्न घरबाट निस्किएपछि सम्पर्कविहीन भएकी उनको गाउँले, आफन्त र छिमेकीले निरन्तर खोजी गरेका थिए। शनिबार बिहान बुङ्गल नगरपालिकाको जंगलमा उनी जीवितै फेला परेपछि सबैमा खुसी छाएको थियो।
तीन दिनको भोक, प्यास र थकानका कारण कमजोर भएकी कुटुरीलाई हिँडाएर गाउँ लैजान नसकिने भएपछि छोरी विमलाले आफ्नै श्रीमान् देव धामीले चलाएको सुपप्र ०१–००१ च २६६४ नम्बरको बोलेरो जिपमा राखेर घर फर्किने निर्णय गरेकी थिइन्। तर, सुगुरे घुम्तीमा जिप दुर्घटना हुँदा आमा–छोरीसहित तीन जनाको घटनास्थलमै मृत्यु भयो।
दुर्घटनामा चालक देव धामीसहित सात जना गम्भीर घाइते भएका छन्। खराब मौसमका कारण तत्काल हेलिकप्टर अवतरण हुन नसकेपछि घाइतेलाई करिब १० घण्टापछि जिल्ला अस्पताल पुर्याइएको थियो। त्यसपछि नेपाली सेनाको हेलिकप्टर र स्काइट्रकमार्फत काठमाडौं, नेपालगञ्ज र सुर्खेतका अस्पतालमा थप उपचारका लागि पठाइएको छ। चिकित्सकका अनुसार चालक देव धामीको अवस्था चिन्ताजनक छ। एकै घटनाले खुसीलाई शोकमा बदलिदिएपछि चुवावन गाउँ यतिबेला शोकमग्न बनेको छ।
































