
अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न प्रदेशका मुख्य राजमार्ग प्रभावित भएका छन्। सडक विभागका अनुसार असोज २९ गते बिहानसम्म केही सडक पूर्ण रूपमा अवरुद्ध छन् भने केही स्थानमा एकतर्फी मात्र सवारी सञ्चालन भइरहेको छ।

कोशी प्रदेशमा भोजपुरको मध्यपहाडी लोकमार्ग एकतर्फी सञ्चालनमा रहेको छ भने इलामको मेची राजमार्ग बाढीका कारण पूर्ण रूपमा बन्द भएको छ। बागमती प्रदेशमा काभ्रेको बीपी राजमार्ग, मकवानपुरको कान्तिलोकपथ तथा सिन्धुपाल्चोकको अरनिको राजमार्ग प्रभावित भएका छन्। यद्यपि कोदारी क्षेत्रमा भासिएको सडक भने पुनः सञ्चालनमा आएको स्थानीय जनप्रतिनिधिले बताएका छन्।
गण्डकी प्रदेशको कास्कीस्थित पोखरा–ताउतिङ सडकखण्ड पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ। लुम्बिनी प्रदेशमा रोल्पा, अर्घाखाँची र गुल्मीका विभिन्न सडकखण्ड बन्द छन् भने पाल्पाको सिद्धार्थ राजमार्गमा एकतर्फी सवारी सञ्चालन भइरहेको छ।


नेपाल प्रहरीले वर्षा जारी रहेकाले यात्रा अघि सम्बन्धित सडकको अवस्था बुझ्न, सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न तथा जोखिमयुक्त क्षेत्रमा विशेष सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

































