
देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा सोमबार अधिकांश क्षेत्रमा बदलीसँगै वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि सर्दै नेपालको तराई भू–भाग नजिक पुगेकाले वर्षा हुने क्रम अझ सक्रिय बनेको हो।

हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने मधेस र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा पनि पानी परिरहेको छ।

महाशाखाका अनुसार सोमबार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहनेछ भने कर्णाली र सुदूरपश्चिममा आंशिकदेखि सामान्य बदली रहने अनुमान छ। कोशी, बागमती र गण्डकीका हिमाली क्षेत्रमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा पनि यस्तै मौसमी गतिविधि देखिन सक्ने जनाइएको छ।

यस्तै, कोशी, बागमती र गण्डकीका पहाडी तथा तराई क्षेत्रमा, साथै मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। विशेषगरी कोशी, बागमती र गण्डकीका पहाडी भू–भाग तथा मधेससहित केही तराई क्षेत्रमा भारी वर्षा हुन सक्ने भएकाले नदी–नाला आसपास, पहिरोको जोखिमयुक्त क्षेत्र र दैनिक आवतजावतमा आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।
































