
अछाम : राष्ट्रिय परिचयपत्र बनाउन आएका अछाम तुर्माखाँद गाउँपालिका–३, लकान्द्रका ७३ वर्षीय मनहरे कामीको मृत्यु भएको छ।

मंगलबार बिहान कमलबजारस्थित राष्ट्रिय परिचयपत्र दर्ता केन्द्रमा पुगेका कामी कार्यालय परिसरमै अचानक ढलेपछि स्थानीयले हतारमा नजिकैको प्राथमिक स्वास्थ्य केन्द्र लगेका थिए। तर चिकित्सकले दिउँसो १२:३५ बजे उनलाई मृत घोषणा गरेका थिए।

कमलबजार नगरपालिका–२, कालापोखरा क्षेत्रमा हिँड्दाहिँड्दै उनी ढलेको स्थानीयले बताएका छन्। घर टाढा भएकाले बाँकी कानूनी प्रक्रिया आफन्त पुगेपछि मात्र अघि बढाइने अछाम प्रहरीले जनाएको छ।

सरकारले सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि ग्रामीण भेगका ज्येष्ठ नागरिक, अशक्त तथा अपाङ्गता भएका नागरिकहरूलाई कठिनाइ भोग्नु परेको छ। सडक सुविधा नपुग्ने, लामो दूरी पैदल हिँड्नुपर्ने र सहाराको अभावले उनीहरूलाई थप सास्ती भइरहेको स्थानीयवासीले गुनासो गरेका छन्।
































