
यूएईमा जारी एसिया कप क्रिकेटअन्तर्गत सुपर फोरको पहिलो खेलमा बंगलादेशले श्रीलंकालाई ४ विकेटले हराएको छ। शनिबार राति भएको खेलमा श्रीलंकाले दिएको १६९ रनको लक्ष्य बंगलादेशले १ बल बाँकी छँदा ६ विकेटको क्षतिमा पूरा गर्यो। बंगलादेशका ओपनर सैफ हसनले ६१ तथा तोहिद रिदोएले ५८ रन बनाए, कप्तान लिटन दासले २३ रन योगदान दिए।


श्रीलंकाका वानिन्दु हसरंगा र दशुन शनकाले २-२ विकेट लिए भने नुवान थुसारा र दुश्मान्था चमीराले १-१ विकेट लिए। पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ७ विकेट गुमाएर १६८ रन बनायो, जसमा दशुन शनकाको अविजित ६४ रन मुख्य रहे। बंगलादेशका मुस्तफिजुर रहमान, मेहदी हसन र तास्किन अहमदले क्रमशः ३, २ र १ विकेट लिए।
यस जितसँगै बंगलादेशले समूह चरणमा श्रीलंकासँगको हारको बदला लिँदै सुपर फोरमा २ अंक जोडेको छ। सुपर फोरमा बंगलादेश, श्रीलंका, भारत र पाकिस्तान प्रतिस्पर्धा गरिरहेका छन्।































