
डा. डम्बर बहादुर पाल

– हामीले मिश्रको सभ्यता, सिन्धुघाटीको सभ्यता, गंगा र ब्रहमपुत्रको सभ्यता, हवाङन्हो र यांगसी सभ्यता, मोहन जोदाडो र हरप्पा बारेमा थुप्रै अध्ययन गर्यौं। अध्ययन मात्र गर्यौं तर बुझ्ने प्रयत्न गरेनौ । प्रथम विश्वयुद्ध (सन १९१४-१९१९) र द्वितीय विश्वयुद्ध (सन् १९३९-१९४५) को पृष्ठभूमीलाई पढ्यौं तर सम्झने प्रयास गरेनौ। अफ्रिकी देशको व्यथा र केही एशियन मुलुकको अवस्थावारे कहिले विश्लेषण गर्न चाहेनौ । सोभियत संघको खण्डिकरण भन्दा पहिलेको र पछिको विश्वलाई कसरी नियालेका छौं? अझै पछिल्लो वैश्विक ध्रुविकरणको दिशालाई कुन संकेतका रूपमा लिने ? China One Belt & Asia-Pacific Strategy ले के सन्देश दिएको छ ? यी र यस्ता प्रश्नहरू एक सर्वसाधारण को समझ भन्दा परका कुरा होलान तर राजनीति गर्छु, म भित्र देशभक्ति छ, जनताको चिन्ता छ भन्ने व्यक्तिले यी कुरा नवुझि जनताको सेवक हुँ भन्नु उसको स्वार्थपुर्ति गर्ने नयाँ धन्दा बाहेक अरु केहि हुन सक्दैन ।
नेपालको इतिहासको तीनवटा प्रमुख काल खन्डको सामान्य अध्ययन नभइ राजनैतिक चेतना सम्भव छैन । १- प्राचिन कालमा गोपाल वंश, महिश पाल वंश, किराँत काल र लिच्छवि कालमा एक अर्कोलाई हस्तक्षेप र परास्त गरी वलपूर्वक शक्ति प्राप्त गरेकै हुन (वि.स. ९३६ भन्दा पहिले)। २- मध्यकालमा मल्ल राजाहरूले आन्तरिक र वाह्य हस्तक्षेप गरि विभिन्न दाउपेचवाट शासनसत्ता हत्याउने गर्दथे (वि.स. ९३७-१८२५ सम्म) ३-शाहकालमा पृथ्वीनारायण शाह र उनका उत्तराधिकारीहरूले बाइसे, चौविसे उपत्यका र पूर्वका राज्य माथि साम, दाम, दण्ड, भेद नीति अपनाएर शासन चलाए (वि.स. १८२५-२०६५ सम्म) । त्यसवेला राज्य निर्माण पहिलो प्राथमिकतामा रहन्थ्यो। आन्तरिक कलह र षडयन्त्र जस्ता शब्द राजनीतिमा सदावहार शब्दावली हुन ।
विद्यालय तहको सामाजिक अध्ययनको पाठ्यक्रमलाई हरेक पुस्ताले प्राय जसो नरुचाएको देखिन्छ । केही मेहनती विद्यार्थीले यस विषयमा सन्तोषजनक अंक प्राप्त गरे पनि यो विषय विद्यार्थी को प्राथमिकतामा अहिले सम्म पर्न सकेको छैन । यसमा समाज, संस्कृति, नैतिक मूल्य, भूगोल, इतिहास, अर्थशास्त्र, शासन प्रणाली, विश्व परिवेश, मानवशास्त्र जस्ता विषयवस्तु समेटिएका छन् जुन मानव जीवनका आधारहरू हुन् । जव कुनै व्यक्ति यी कुरावाट टाढा रहन्छ भने कुनै कालखण्डमा गएर केही कुरा मन परेन भन्दा त्यसको न्यायिक र स्थायी समाधान तत्काल सम्भव छैन । अर्थात समाज र भूगोल नबुझि राजनीति सम्भव छैन । अझ अहिलेको भुमण्डलीकरणमा स्थापित हुन फलामका च्युरा झै हो। ढुंगा हानेर, यतिघर जलाए, जिउँदै मान्छे जलाएर यति वर्ष जेल बसे भनेर नेता बन्ने चलन अव नचलाउनुस । राजनीतिका लागी योग्यता मापदण्ड बनाउने र अवधि निर्धारण गरौं। कमसेकम विद्यालय तहलाई आन्दो लनमा नहोमौ, कसो ?
राणा विरुद्ध लडाइ गरेको सानो पंक्ति अझै छ। पञ्चायतका विरुद्ध संघर्ष गरेको र यातना भोगेकाहरुको ठूलै जमात छ र अझै प्रभुत्व छ । प्रजातन्त्र उत्तम व्यवस्था हो र जनता तव मात्र मालिक हुन्छ जब प्रजातन्त्र हुन्छ भनेर घरघरवाट जनता उचालेर ठूलै आन्दोलन भयो (२०४६)। प्रजातन्नाले पनि सबैलाई समेटेन र अब सबै वर्ग र समुदायलाई समावेश गरी साँच्चिकै मालिक बनाइन्छ भनि अर्को क्रान्ति भयो (२०५२-२०६२/२०६३) । यी सबै आन्दोलनमा जनता मरे। राष्ट्रको ढुकुटी नास भयो । समाजमा अशान्ती बढ्यो । पावर, पद र पैसा हावी भयो। दिल्ली सम्झौता (२००७) देखि महेन्द्रको भाषण (२०१७) देखि को मुख्य शब्दावली भ्रस्टाचार, असान्ती, पक्षपात, अन्याय, सत्ता लिप्सा, नातावाद … आदि शब्द अहिले सम्म पनि ज्यूँका त्यूँ छन । व्यवस्था परिवर्तन भयो तर अवस्था परिवर्तन भएन । नीति परिवर्तन भयो तर नियती परिवर्तन भएन ।
जेन-जी समुहले भ्रस्टाचारलाई प्रथम सत्रु ठान्दै यसका विरुद्ध एकजुट हुने दृढ संकल्प गर्यो । पक्कै हो । CPI प्रतिवेदनले प्रत्येक १०० जनामा ६७ जनाले भ्रस्टाचार गर्छन भनेको छ। भ्रस्टाचार गर्नेमा राज्यको कोष बांडफाँड गर्ने देखि प्रयोग / कार्यान्वयन गर्ने अधिकांसले कुनै न कुनै रूपवाट भ्रस्टाचार गरेको पाइन्छ। यदपी सबैलाई एउटै डालोमा हाल्न मिल्दैन । केही असल पनि छन् । केहीले नीतिगत त केहीले अनितिगत दोहन गरेका छन । भ्रस्टाचार, कालावजारी वा अन्य गैर कानुनी असुली किन नहोस यो सबै निस्पक्ष छानविन होस कानुनी उपचार गरी राष्ट्रियकरण गरिनु पर्दछ। जेनजी को भावना संग सिंगो राष्ट्र सहमत छ। भ्रस्टाचार र सामाजिक सञ्जालमाथी लागेको प्रतिवन्धका विरुद्धको आवाज उठाउदा २०८२/०५/२३ गते वर्वरतापूर्ण गोली चलाउनु कदापी राम्रो काम होइन । उक्त घट्नामा शहादत प्राप्त गर्ने सबैमा हार्दिक श्रद्धान्जली व्यक्त गर्दछु र घाइतेको सीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । साथै उचित सम्मान र क्षतिपुर्तिको लागि अनुरोध गर्दछु ।
जेनजी आन्दोलन अभूतपूर्व त भयो तर नेतृत्व प्रकरणले अराजक भिडका रूपमा परिणत भयो । यस प्रोटेस्ट्मा जेन-जी, जेन-एक्स, जेन-वाई, जैन अल्फा समूह समेत सहभाসী भए। कतिपय दृश्य र अदृश्य तत्वहरुको समेत घुसपैठका कारण हाम्रा ऐतिहाँसिक दस्तावेज र धरोहर निमिट्यान्न भए। व्यक्तिगत र सार्वजनिक सम्पत्ति खरानी बनाइयो । जेन-जीले पटक-पटक सूचना गर्दै थियो कि हामी गलत तरिकाले प्रस्तुत हुने छैनौ भनेर । तर सञ्जालमा अराजक भड्काववाजी क्लीपहरूले प्रदर्शनलाई भिडतंत्रमा परिणत गर्यो । यसै मौकामा केही पार्टी, नेता तथा समुहले आफु अनुकुल प्रयोग गरे । व्यक्तिगत रिसिवी र राजनीतिक आस्थाका विरुद्ध प्रतिसोध साँध्ने काम भयो । यो अमानवीय र अपराधिक कार्यमा को कसरी संलग्न / प्रयोग भए समयले देखाउने नै छ। यस्तो प्रवृत्तिले देश वनाउँछु भन्नेलाई कसरी पत्याउने ? आन्तरिक र वाह्य वातावरण नवुझि उपाय निस्किदैन । आगो लगाउने र माहोल उत्तेजित पार्ने दुवै उत्तिकै जिम्मेवार छन । टाउकाको जुम्रा मार्न शरीरमा पेट्रोल खन्याएर आगो लगाउनु कहाँको बुद्धिमानी हो ? यत्रो विध्वंश गरेर कसले के पायो ? कसको के जीत भयो? के साँच्चिकै हाँस्ने बेला हो ? के आमाको अस्मिता बेचेर कुर्सीमा वसेर नोटको विटा समातेर आनन्द लिँदै छौ? को रोए वा को हाँसे? यो ठूलो प्रश्न होइन । देश अभिभावक विहिन र संरक्षक विहिन भएर एक्लै टुहुरो र वेसहारा बनेर लासहरुका वीच रातदिन जलिरह्यो । रोइरह्यो । सधैंका लागी सन्तान र दस्तावेज खरानी बनाइए। यो सबैको दोषी के सिंह दखार नै हो ? कतिपटक जल्नु पर्ने हो ? सिंहदरवारले ।
फिल्टर गर्न आवश्यक पनि थियो, छ। तरिका अरुपनि हुन सक्थ्यो । तर नक्कली जेनजीहरूले वास्तविक जेनजीलाई ‘हाइजेक’ गर्यो। राजा, राणा, पञ्चायत, प्रजातन्त्र र गणतन्त्रलाई समेत थेग्दै आएको प्रशासनिक केन्द्रले के अब विश्राम पाउला ? अवका शासकले ओढारमा गएर शासन गर्छन कि ? भएको सबै स्वाहा पारेर को सँग भीक माग्ने ? परिश्रम गर्ने युवा देशमा बस्न मान्दैन । कृषिप्रधान देश हेर्दा-हेर्दै मागी खाने भइसक्यो । उत्पादन छैन, उद्योग छैन, रोजगार छैन, लगानी गर्ने वातावरण छैन, यहीं केही गर्छु म आफै गरिखान्छु भनेपनि सपोर्ट छैन । के यो देशलाई सुडान, हैटी, युगान्डाको वाटोमा लग्न खोजेको हो कि सिक्किम वा अफ्गानिस्तान ? पराइ भुइमा बसेर वा अर्केको एजेन्ट भएर आफ्नालाई ताकी ताकी गोली हान्नु नछोडन्जेल देश बन्दैन ।
नेपाललाई कसैले स्वीट्जरल्यान्ड बनाउने, कसैले सिंगापुर बनाउने रे (बेहुला बनाउँछु भन्थी बहुला बनायो) । यस्ता नारा र भाषण अव त बन्द गर्नुस । स्वीटजरल्याण्डमा सन् १८१५ देखि कुनै गृहयुद्ध भएको छैन । हप्तामा ३दिन काम गर्दा वा महिनामा २२00 डलर कमाउदा आरामले खान पुग्छ । आनन्द जीवन चल्छ । शिक्षा, स्वास्थ यातायात आधारभुत कुरा निशुल्क छ। अनि पो बन्छ देश। हरेकको आ-आफ्नो च्वाइस / पेशा हुन्छ।
अर्कोको पेशा/काममा दखल हुँदैन। नेपालमा हरेक पेशा वा व्यवसायीले राजनीति गर्नै पर्ने। केही नगर्नेने त अनिवार्य गर्नै पर्ने। दिनभरी अवारा घुमेर वा बकमफुसे गफ गरेर लैंगिक दादागिरी गर्ने । चिन्तन अध्ययन छैन सर्वज्ञ ठान्ने प्रवृत्ति छ। हरेक १०/१५ वर्षमा आन्दोलनका शृंखला चलिरहन्छ। कसैले आन्दोलन गरे लुट्ने दाउ हेरेर वसेका हुन्छन् । भ्रस्टाचारीको विकल्प लुटेरा हुनै सक्दैन । राष्ट्रिय नीति र दीर्घकालिन योजनामा एकमत हुनुहोस । उत्तरलाई खुशी पार्ने वा दक्षिणलाई वा पश्चिमलाई भन्ने प्रतिस्पर्धामा मात्रै जीवन व्यतित नगर्नुस। समय सधै एकनास रहन्न । अवसरको लागी यो छोडे त्यो समाते होइन । सिद्धान्त र विचारलाई मौसम नठान्नुस । समय सधै एकनास रहन्न । नियत सफा राख्नुस ।
अर्को कुरा, व्यवहारमा कठिनाइ देखिएका र संविधानमा उल्लेख भएका केही कानुनी प्रावधान कसरी सच्च्याउने ? पात्र परिवर्तन विकल्प होइन। शासकिय स्वरूप, व्यवस्थापिकाको गठन,… आदि महत्वपूर्ण पक्षमा सम्माननीय प्रधानमन्त्री ज्यूले जनताको विश्वास, जित्नु भयो भने बधाई दिने गरी अहिलेलाई भुभकामना मात्र छ । तपाँई कानून को मान्छे हो, कानुनी फन्दामा नफस्नु होला । पछिल्लो समयका केही लक्षणहरु /संकेतहरु शुभ छन भन्न सकिने अवस्था छैन। २०१५ साल पछिको संसदीय प्रणालीमा संसद विघटनको इतिहास ।
मिति कारण प्रतिफल
२०१७ पुष १ प्रत्यक्ष राजतन्त्र ल्याउन पञ्चायत सुरु
२०४८ आन्तरिक अस्थिरता (कांग्रेस) मध्यावधी निर्वाचन
२०५१ अल्पमतको सरकार (एमाले) मध्यावधी निर्वाचन
२०५९ जेष्ठ २२ माओवादी युद्ध राजाको सक्रियता
२०७७ पुष ५ पार्टीसंकट (नेकपा) अदालतले बदर
२०७८ जेठ ७ वहुमत परीक्षण टार्न अदालतले बदर
२०८२ भाद्र २७ जेनजी आन्दोलन – ?—–?—-
धन्यवाद !





























