
सेर बहादुर बोहरा/बझाङः साईपाल गाउँपालिका–३, काँडामा नेपाल पर्यटन बोर्ड, संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम (UNDP) र साहारा नेपाल बझाङको साझेदारिमा सञ्चालित दिगो पर्यटन परियोजनाअन्तर्गत तीनदिने ‘होमस्टे व्यवस्थापन तालिम’ सम्पन्न भएको छ। तालिम मिति २०८२ कात्तिक २७–२९ गते साईपाल गाउँ कार्यपालिकाको सहकार्यमा आयोजित थियो।

तालिमको उद्घाटन गाउँपालिका अध्यक्ष मानवीर बोहरा, उपाध्यक्ष डोल्मा तामाङ, प्रमुख प्रशासकीय अधिकृत सन्देश प्रसाद जोशीसहित स्थानीय जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवाला संस्थाका प्रतिनिधिहरूको उपस्थितिमा सम्पन्न भयो। कार्यक्रममा साहारा नेपाल बझाङका सचिव जनक बहादुर द्वाल, दिगो पर्यटन कार्यक्रम फोकल पर्सन वसन्त बोहरा र फिल्ड संयोजक दिनेश रोकाया सहभागी थिए।
वडा नं. १, २, ३ र ४ का २१ जना सहभागी (११ महिला, १० पुरुष) सहभागी भएको आवासीय तालिममा होमस्टे दर्ता प्रक्रिया, व्यवस्थापन, आतिथ्य सत्कार, सरसफाइ, सुशासन र स्थानीय उत्पादनमा आधारित पाककला सम्बन्धी सैद्धान्तिक तथा व्यवहारिक सीप प्रदान गरिएको थियो।
होमस्टे महासंघ नेपालका कोषाध्यक्ष तथा प्रशिक्षक सुरज बास्तोलाले प्रशिक्षण दिँदै दिगो र पर्यटक–मैत्री होमस्टे सञ्चालनका आवश्यक सीप सिकाए। सहभागीहरूले स्थानीय अन्न, तरकारी तथा दुग्धजन्य सामग्री प्रयोग गरी विभिन्न परिकार बनाउन अभ्यास गरे।
तालिमले सहभागीहरूको क्षमता अभिवृद्धि, महिलाको सशक्तिकरण, स्थानीय उत्पादनको प्रवर्द्धन तथा साईपालमा दिगो पर्यटन विकासमा टेवा पुग्ने अपेक्षा आयोजक निकायले गरेको छ।



























