
सव डिभिजन वन कार्यालय अत्तरियाका प्रमुख निरञ्जन कडाँलको कञ्चनपुर सरुवासँगै स्थानीय समुदायले अत्यन्तै सम्मानजनक रूपमा विदाइ गरेको छ। चार वर्षअघि अत्तरियामा कार्यभार सम्हालेका कडाँललाई सोमबार स्थानीयवासी, सामुदायिक वन उपभोक्ता समूहका प्रतिनिधि तथा सामाजिक अगुवाहरूले फूलमाला, टिका र अबिर लगाएर बिदाइ गरे।

कार्यालय परिसरमै आयोजित कार्यक्रममा कडाँलले अत्तरियामा बिताएको समय जीवनभर सम्झनलायक रहेको बताए। उनका अनुसार सामुदायिक वन व्यवस्थापन, बन फडानी नियन्त्रण, अतिक्रमण रोकथाम तथा संरक्षणको काममा सबैको साथ सहयोगले उल्लेखनीय प्रगति हासिल भयो।

उनले कार्यकालमा करिब ७० सामुदायिक वनको नविकरण सम्पन्न भएको र सुस्त अवस्थामा रहेका वन समूहहरू सक्रिय बन्दै ६० भन्दा धेरै वन उपभोक्ता समूहले प्रभावकारी रूपमा काम गर्न थालेको बताए। काठ बिक्री–वितरण जस्ता महत्वपूर्ण कार्यसमेत व्यवस्थित रूपमा अघि बढेको उनको भनाइ छ।
कडाँलका अनुसार अत्तरियामा पहिलोपटक कार्यालय प्रमुखको यसरी सामूहिक रूपमा विदाइ हुनु आफैंमा विशेष सम्मान हो। उनले स्थानीयको माया र सहयोग कहिल्यै नबिर्सिने बताउँदै अत्तरिया आफ्नो मनमा सदैव रहने उल्लेख गरे।



























