
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि बैतडी जिल्लाबाट उम्मेदवारहरूको नाम सिफारिस गरेको छ। पार्टीले प्रत्यक्ष तर्फ प्रतिनिधि सभा सदस्यका लागि तीन जनाको नाम केन्द्रमा पठाएको हो। सिफारिस सूचीमा पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दका छोरा भुपेनबहादुर चन्द, राप्रपा बैतडीका अध्यक्ष इन्द्रदेवशरण भट्ट र नवीना शाही चन्द रहेका छन्।

राप्रपा बैतडीका अनुसार प्रत्यक्ष तर्फ पहिलो प्राथमिकतामा भुपेनबहादुर चन्दको नाम सिफारिस गरिएको छ। पार्टीभित्र कुनै प्राविधिक वा प्रक्रियागत समस्या नआएमा उनी सर्वसम्मत उम्मेदवार बन्ने सम्भावना रहेको अध्यक्ष भट्टले जानकारी दिए।
यस्तै, पार्टीले समानुपातिक तर्फ प्रतिनिधि सभा सदस्यका लागि गणेश चन्द, अम्बिका भण्डारी र जिते महरको नाम पनि सिफारिस गरेको छ। राप्रपाले संगठन मजबुत बनाउँदै स्थानीय तहदेखि केन्द्रसम्म समन्वयका साथ निर्वाचनको तयारी अघि बढाइरहेको जनाएको छ।





























