
कञ्चनपुर कारागारभित्र दुई दिनअघि कैदीबन्दी र नाइकेबीच भएको झडप घटनाको छानबिन गर्न स्थानीय प्रशासनले तीन सदस्यीय समिति गठन गरेको छ। गत शुक्रबार कारागारभित्र भएको विवाद झडपमा आठ जना कैदीबन्दी घाइते भएका थिए। घाइतेमध्ये दुई जना उपचारपछि कारागार फर्किसकेका छन् भने बाँकी छ जनाको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालका अनुसार घटनाको यथार्थ बुझ्न सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको हो। समितिमा जिल्ला प्रहरी कार्यालयका डीएसपी सागर बोहरा र जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत धर्मराज उपाध्याय सदस्य रहेका छन्। समितिलाई सात दिनभित्र छानबिन गरी प्रतिवेदन पेस गर्ने कार्यादेश दिइएको छ।

प्रजिअ ढकालले कारागारको निरन्तर अनुगमन भइरहेको जनाउँदै छानबिनपछि घटनाको वास्तविकता सार्वजनिक गरिने बताए। नाइकेहरूले कारागारभित्र एकाधिकार जमाएको, सेवासुविधामा आर्थिक चलखेल गर्ने तथा अवैध गतिविधि सञ्चालन गरेको आरोप लगाउँदै कैदीबन्दी आन्दोलित भएको बताइएको छ।

































