भागेर विवाहको ‘आधुनिक’ चलन: बालविवाहको स्वरूप फेर्दै सुदूरपश्चिममा सामाजिक चुनौती

Image
Nisarga Hospital

धनगढीमा भएको एक कार्यशालामा बालविवाहको बदलिदो स्वरूप र यसले शिक्षामा पार्ने नकारात्मक असरबारे छलफल भयो। पहिले अभिभावकको जबरजस्तीले गर्ने बालविवाह घटेको देखिन्छ भने अहिले बालबालिका आफैं भागेर विवाह गर्ने प्रवृत्ति बढेको चिन्ता व्यक्त गरियो।

CP Hospital Dhangadhi

धनगढी नगरस्तरीय बाल सञ्जालका अध्यक्ष मातृकाप्रसाद उपाध्यायका अनुसार गरिबी, सामाजिक सञ्जालको दुरुपयोग र पुराना संस्कार बालविवाहका कारण हुन्। उनले भने, “अहिले प्रेमको नाममा सानै उमेरमा भाग्ने डरलाग्दो प्रवृत्ति छ। कानुनको फितलो कार्यान्वयन र सामाजिक स्वीकृति यसको मूल कारण हो।”

लू निभाका अध्यक्ष डा. रुपा मुनाकर्मीले संस्थाको अनुसन्धान उल्लेख गर्दै ३३ प्रतिशत महिलाको विवाह १८ वर्ष मुनि हुने र १३–१९ वर्षको उमेरसमूहमा आफैं विवाह गर्ने संख्या उच्च रहेको बताइन्। उनले मोबाइल संस्कृति, भिडियो र शारीरिक चाँडै परिपक्वताले बालबालिकामा भ्रम सिर्जना गरेको पनि जोड दिइन्।

nawajiwan
Attariya Hospital

राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेशका प्रमुख झंकर रावलले बालविवाहले शिक्षाको अधिकार कुण्ठित गरेको र जन्मदर्तामा समस्या उत्पन्न गरेको बताए। कैलालीको चुरे क्षेत्रमा यो समस्या विशेष गम्भीर रहेको उनले उल्लेख गरे।

शिक्षा अधिकार अनुगमन समूहका राष्ट्रिय संयोजक नरेन्द्र डंगोलले डडेल्धुरा लगायत जिल्लामा आफैं भाग्ने प्रवृत्ति बढेको र विवाहपछि विद्यालय छोड्न बाध्य हुने समस्या उल्लेख गरे। उनले बालविवाहपछि आमा बन्दा शारीरिक र मानसिक स्वास्थ्यमा समस्या आउने चेतावनी दिए।

धनगढी उपमहानगरपालिकाका घुम्मन बडायकले कानुन मात्रले समस्या समाधान नहुने र बालबालिका किन भाग्छन् भन्ने कारण पत्ता लगाउनु जरुरी रहेको बताए। पिसविनका जुद्ध रावलले जोडीलाई कानुनी दायरामा ल्याउन खोज्दा आत्महत्या वा पलायनको जोखिम रहेको चेतावनी दिनुभयो।

विद्यार्थी संगीता भट्टले बालविवाह रोक्न कानुनको डण्डा मात्र पर्याप्त नभएको, गुणस्तरीय शिक्षा, मानसिक परामर्श र सामाजिक सुरक्षा आवश्यक रहेको जोड दिइन्। कार्यक्रममा सहभागीहरूले यस समस्या न्यूनीकरण गर्न सबै सरोकारवालाको सहकार्य अनिवार्य रहेको सहमति जनाएका थिए।