
डिजिटल युगमा उदाउँदै गरेका नेपाली कन्टेन्ट क्रिएटरहरूका लागि सुनौलो अवसरका रूपमा ‘क्रिएटर्स मेला’ पुनः आयोजना हुने भएको छ। एनसेल र नेपालस्थित अमेरिकी दूतावासको सहकार्यमा आयोजना हुने यो मेला चितवन, नेपालगन्ज र काठमाडौँमा सञ्चालन हुँदैछ। निःशुल्क सहभागिता जनाउन सकिने यो कार्यक्रमले सिर्जनशील युवाहरूलाई व्यावहारिक सीप, व्यावसायिक सञ्जाल र अन्तर्राष्ट्रिय सम्भावनासँग जोड्ने लक्ष्य राखेको छ।


यो वर्षको क्रिएटर्स मेला माघ ३ गते चितवनबाट सुरु भई माघ १० गते नेपालगन्ज र माघ १६ तथा १७ गते काठमाडौँमा आयोजना हुनेछ। सन् २०२३ देखि साझेदारका रूपमा एनसेलले सहयोग गर्दै आएको यो कार्यक्रमले डिजिटल नेपाल निर्माणको अभियानलाई थप सशक्त बनाउँदै आएको छ। ‘भिजन टु भेन्चर’ नारासहितको यस वर्षको मेला सिर्जनशील योजनालाई वास्तविक अवसर र व्यवसायमा रूपान्तरण गर्न केन्द्रित रहनेछ।
एनसेलकी कर्पोरेट कम्युनिकेशन एन्ड सस्टेनेबिलिटी डाइरेक्टर विषाखा लक्ष्मी खड्काका अनुसार, क्रिएटर्स मेला उदीयमान र स्थापित दुवै किसिमका क्रिएटरहरूका लागि डिजिटल कन्टेन्टको स्तर उकास्ने प्रभावकारी प्लेटफर्म हो। उनले भिडियो प्रतिस्पर्धामार्फत क्रिएटरहरूलाई आफ्नो प्रतिभा देखाउने र नगद पुरस्कार जित्ने अवसर पनि प्रदान गरिएको जानकारी दिइन्।
अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख माइक हार्करले क्रिएटर्स मेलाले सिर्जनात्मक उद्योगमार्फत नेपालको अर्थतन्त्र मजबुत बनाउन सहयोग पुर्याउने विश्वास व्यक्त गरे। नेपाली क्रिएटरहरूलाई विश्व बजार र अन्तर्राष्ट्रिय साझेदारसँग जोड्दै उद्यमशीलता र रोजगारी सिर्जनामा टेवा पुर्याउने दूतावासको प्रतिबद्धता यस मेलामार्फत झल्किने उनले बताए।
मेलाकै अवसरमा एनसेलले ‘एनसेल फोरजीले तपाईंको जीवन कसरी सजिलो बनाउँछ’ विषयमा भिडियो प्रतिस्पर्धा पनि आयोजना गरेको छ। प्रत्येक सहरबाट एक–एक जना विजेताले ५० हजार रुपैयाँ नगद पुरस्कार जित्नेछन् भने एनसेल फाउन्डेसनका गतिविधिमा सहभागी हुने अवसरसमेत पाउनेछन्।
हालसम्म ५ हजारभन्दा बढी क्रिएटर सहभागी भइसकेको यो मेला सिकाइ, नेटवर्किङ र व्यवसायिक विकासको एक विश्वसनीय थलोका रूपमा स्थापित हुँदै गएको छ। विभिन्न सत्र, प्यानल छलफल र विशेषज्ञ अन्तरक्रियामार्फत क्रिएटर्स मेला नेपाली डिजिटल सिर्जनशीलताको भविष्य उज्यालो बनाउने विश्वास गरिएको छ।































