
कैलालीको धनगढीमा घरेलु हिंसाको दर्दनाक घटना सार्वजनिक भएको छ। धनगढी उपमहानगरपालिका–८ स्थायी घर भई हाल उपमहानगरपालिका–१३ राजपुरमा डेरा गरी बस्दै आएका सतिङ दाहालले आफ्नै श्रीमती ३० वर्षीया हिरा दाहालको कुटपिट गरी हत्या गरेका हुन्। प्रहरीका अनुसार दम्पतीबीच घरायसी विवाद बढ्दै जाँदा आइतबार सतिङले श्रीमतीमाथि कुटपिट गरेका थिए।

कुटपिटबाट गम्भीर घाइते भएकी हिरा दाहाललाई उपचारका लागि सेती प्रादेशिक अस्पताल पुर्याइएको थियो। तर उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले पुष्टि गरेको छ। घटनापछि प्रहरी टोलीले आरोपी सतिङ दाहाललाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रहरीका अनुसार घटनाको कारण, विवादको पृष्ठभूमि र थप विवरणबारे सोधपुछ भइरहेको छ। यस घटनाले समाजमा बढ्दो घरेलु हिंसाप्रति गम्भीर प्रश्न उठाएको छ। प्रहरी प्रशासनले यस्ता घटनामा शून्य सहनशीलता अपनाइने जनाएको छ।































