
धनगढीमा पहिलोपटक भव्य रूपमा म:म महोत्सव आयोजना हुने भएको छ। नेपालीहरूको अत्यन्त प्रिय परिकार म:मको प्रवर्द्धन र स्थानीय स्वादलाई राष्ट्रियस्तरमा चिनाउने उद्देश्यसहित सिद्धार्थ ग्रुपअन्तर्गतको सिद्धार्थ कटेज धनगढीले यो महोत्सव आयोजना गर्न लागेको हो।
धनगढी–३ स्थित पृथ्वीनारायण चोक नजिक अवस्थित सिद्धार्थ कटेज केवल एक रेस्टुरेन्ट मात्र नभई पारिवारिक मनोरञ्जन, विलासिता र आतिथ्य सेवाको उत्कृष्ट गन्तव्यका रूपमा परिचित छ। यहाँ लक्जरी रेस्टुरेन्ट तथा प्राइभेट डाइनिङ, शान्त पारिवारिक वातावरण, स्वादिष्ट भोजन, स्विमिङ पुल, वाटर फन पार्क तथा सभा–समारोह, तालिम र उत्सवका लागि अत्याधुनिक हलहरूको सुविधा उपलब्ध छ।
सिद्धार्थ कटेजले यसअघि नेपालगञ्जमा २०८० सालदेखि म:म महोत्सव आयोजना गर्दै आएको थियो। सोही सफलताका आधारमा यस वर्षदेखि धनगढीमा समेत महोत्सव विस्तार गरिएको हो। कटेजका व्यवस्थापन तथा सञ्चालन प्रबन्धक महेश जोशीका अनुसार धनगढीमा चौथो संस्करणका रूपमा माघ १६, १७ र १८ गते तीन दिनसम्म म:म महोत्सव सञ्चालन हुनेछ। महोत्सवमा दुई सयभन्दा बढी प्रकारका म:म परिकारको स्वाद लिन सकिने उनले बताए।
महोत्सवमा सुदूरपश्चिम प्रदेशका मौलिक तथा परम्परागत खानाका विशेष स्टलहरू पनि रहनेछन्। स्थानीय पहिचान झल्काउने परिकार, परम्परागत स्वाद र संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले राखिएका यी स्टलहरूले महोत्सवलाई थप आकर्षक बनाउने कटेजका क्षेत्रीय निर्देशक केशवराज न्यौपानेले बताए।
तीन दिनसम्म सञ्चालन हुने महोत्सवको पहिलो र दोस्रो दिन सांस्कृतिक नृत्य, लाइभ ब्याण्ड तथा कलाकारहरूको प्रस्तुति रहनेछ। अन्तिम दिन ‘म:म मेकिङ एण्ड कुकिङ कम्पिटिसन’ र म:म खाने प्रतियोगिता आयोजना गरिनेछ। इच्छुक व्यक्तिले नि:शुल्क सहभागिता जनाउन सक्ने र सहभागीलाई तालिमसमेत प्रदान गरिने आयोजकले जनाएको छ।


































