
अत्तरियाः गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्टले विद्यालयबाट अवकाश प्राप्त शिक्षकहरूको मञ्च गठन अनिवार्य रहेको बताएका छन्। बिहीबार अत्तरियास्थित दुर्गालक्ष्मी क्याम्पसमा पूर्व विद्यार्थी मञ्चले आयोजना गरेको म्याराथुन प्रतियोगितामा बोल्दै उनले शिक्षा क्षेत्रमा गुणस्तर अभिवृद्धि गर्न पूर्व शिक्षकहरूको अनुभव अपरिहार्य रहेको बताए।

उनले अवकाशप्राप्त शिक्षकलाई समेटेर छुट्टै मञ्च गठन गर्नुपर्ने आवश्यकता औँल्याउँदै दुर्गालक्ष्मी क्याम्पसमा गठन भएको मञ्चले सकारात्मक उदाहरण प्रस्तुत गरेको बताए। “दुर्गालक्ष्मीमा पूर्व विद्यार्थी मञ्च गठन हुँदा राम्रो सन्देश गएको छ,” उनले भने।
नगरप्रमुख भट्टले पालिका भित्रका सबै विद्यालयमा यस्ता मञ्च गठन आवश्यक रहेको जोड दिँदै शिक्षा सुधारका लागि पूर्व विद्यार्थी र रिटायर्ड शिक्षक दुवैको सक्रिय सहभागिता अपरिहार्य रहेको बताए। नगरपालिकाले यसका लागि योजनाबद्ध र सक्रिय कदम चालिरहेको पनि उनले जानकारी गराए।
शिक्षा क्षेत्रको गुणस्तर सुधार र अनुभवको साझा ज्ञान प्रयोग गरी विद्यार्थीहरूका लागि अझ प्रभावकारी वातावरण सिर्जना गर्न पूर्व शिक्षक र विद्यार्थी मञ्चको योगदान महत्वपूर्ण हुने छ।






























