
अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले २०१२ मा प्रक्षेपण गरेको करिब ६०० किलो तौल भएको ‘भ्यान एलेन प्रोब ए’ अन्तरिक्ष यान करिब १४ वर्षपछि पुनः पृथ्वीको वायुमण्डलमा प्रवेश गर्न लागेको छ। अमेरिकी स्पेस फोर्सका अनुसार बुधबार बिहान यस यानको पृथ्वीमा खस्ने अनुमान गरिएको छ। यद्यपि २४ घण्टाको घटबढ हुनसक्ने अनिश्चितता रहेको नासाले जनाएको छ।

भूउपग्रह तीव्र गतिमा वायुमण्डलमा प्रवेश गर्दा अधिकांश भाग जलेर नष्ट हुनेछ, तर केही बलिया पाटपुर्जा बाँकी रहन सक्ने सम्भावना छ। नासाले टुक्राले मानिसलाई चोट पुर्याउने सम्भावना अत्यन्त न्यून, करिब ४,२०० मा १ रहेको जनाएको छ।

सन् २०१२ देखि २०१९ सम्म यस मिशनले पृथ्वीको चुम्बकीय क्षेत्रमा फसेका चार्ज कणको अध्ययन गरेको थियो। यसले सौर्य गतिविधि तीव्र हुँदा बन्ने तेस्रो अस्थायी विकिरण क्षेत्र पत्ता लगाउने लगायत अन्तरिक्ष विज्ञानमा महत्वपूर्ण योगदान पुर्याएको मानिन्छ। नासाले यसको निरन्तर निगरानी गर्दै खस्ने निश्चित स्थानबारे थप अपडेट दिने जनाएको छ।































