
कैलालीको अत्तरिया जेसीजले सडक दुर्घटना कम गर्न छाडा चौपायामा राति चम्किने रिफ्लेक्टिभ स्टिकर टाँसेको छ। शनिबार अत्तरिया क्षेत्रमा करिब ८० वटा छाडा चौपायाको घाँटीमा स्टिकर टाँसिएको कार्यक्रम संयोजक रोशन बलायरले जानकारी दिए।

इलाका प्रहरी कार्यालय मालाखेतीको सहयोगमा गरिएको यो पहलले राति सडकमा चौपायाका कारण हुने दुर्घटनाको जोखिम घटाउने उद्देश्य राखेको छ। तथ्यांकअनुसार छाडा चौपायाले सडक दुर्घटनामा उच्च भूमिका खेलेको देखिएको छ।


अत्तरिया जेसीजका अध्यक्ष बम बहादुर बोगटीले सामाजिक उत्तरदायित्वका रूपमा गरिएको यस कार्यले छाडा चौपायाका कारण हुने दुर्घटना न्यूनिकरणमा योगदान पुग्ने आशा व्यक्त गरे। विशेषगरी रातको समयमा दुर्घटना जोखिम बढ्ने भएकाले रिफ्लेक्टिभ स्टिकरले चालकलाई सजग बनाउने र सुरक्षा प्रवर्द्धन गर्ने विश्वास उनीहरूले व्यक्त गरेका छन्।

































