
कैलालीको गोदावरी नगरपालिका वडा नं. ४ स्थित गोदावरी धाममा भव्य रामजानकी मन्दिर निर्माणको काम तीव्र गतिमा अघि बढिरहेको छ। भिमदत्त पन्त राजमार्गअन्तर्गत अवस्थित हनुमानको मुर्तिसँगै उभिने यो मन्दिर क्षेत्रीय र राष्ट्रिय स्तरमा सांस्कृतिक, धार्मिक र पर्यटनिक दृष्टिले महत्वपूर्ण केन्द्र बन्ने अपेक्षा गरिएको छ।

हनुमान मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र बहादुर शाहीका अनुसार, २०७४ सालको रामनवमीमा शिलान्यास भएको मन्दिर स्थानीय सरकार, प्रदेश सरकार र दाताहरूको सहयोगमा निर्माण भइरहेको छ। २०८४ सालको गोदावरी महाकुम्भ मेलालाई लक्षित गर्दै रामजानकी मन्दिर निर्माण सम्पन्न गर्ने तयारी गरिएको छ, तर आर्थिक अभावले कार्यमा चुनौती थपिरहेको छ।
मन्दिर निर्माणको कुल डिपीआर ५ करोड ९३ लाख रहेको छ। यसको करिब ५० प्रतिशत काम सम्पन्न भइसकेको छ। स्थानीय सरकारबाट ४० लाख ५० हजार र प्रदेश सरकारबाट ९० लाख रकम प्राप्त भएको छ भने, बाँकी सहयोग दाताहरूबाट जुटाइरहेको समिति जनाएको छ। शाहीले भने, “कसैले इटा, कसैले छड, कसैले बालुवा–सिमेन्ट सहयोग गरेका छन्। जे सहयोग आउँछ, हामी स्वीकार गर्दैछौँ।”


मन्दिरभित्र रामायण सङ्ग्रहालय निर्माण गरिँदैछ जसमा रामको जीवनचक्र प्रदर्शनी हुनेछ। साथै, राम दरबारमा सुदूरपश्चिमका नौवटा शक्तिपिठको स्थापना हुने छ। यस भव्य मन्दिर निर्माण सम्पन्न भएपछि आन्तरिक तथा बाह्य पर्यटकहरूको आकर्षण केन्द्र बन्ने शाहीले बताए।
हालको आर्थिक अभावले मन्दिरको समयमै निर्माण पूरा गर्न चुनौती भएपनि, समिति र स्थानीय समुदाय सबै पक्षसँग सहयोगका लागि सक्रिय छ। गोदावरी धाममा निर्माणाधीन यो मन्दिर केवल धार्मिक स्थल नभई सुदूरपश्चिमको सांस्कृतिक पहिचान र पर्यटन प्रवर्द्धनको महत्वपूर्ण केन्द्र बन्ने अपेक्षा गरिएको छ।
































