
फेसबुकले क्रियटर फास्ट ट्र्याक नामक नयाँ कार्यक्रम ल्याउने तयारी गरेको छ, जसको मुख्य उद्देश्य युट्युब र टिकटकजस्ता प्लेटफर्ममा स्थापित क्रिएटरहरूलाई आफ्नो तर्फ आकर्षित गर्नु हो। यस कार्यक्रमअन्तर्गत सहभागी क्रिएटरहरूले निश्चित भुक्तानी पाउनेछन् र फेसबुकमै आफ्नो कन्टेन्टको रिच बढाउन सहयोग पाउनेछन्।

गत वर्ष मात्र फेसबुकले मोनिटाइजेसन कार्यक्रममार्फत क्रिएटरहरूलाई करिब ३ बिलियन डलर भुक्तानी गरेको थियो, जुन अघिल्लो वर्षको तुलनामा ३५ प्रतिशतले बढी हो। नयाँ कार्यक्रम अन्तर्गत क्रिएटरहरूले तीन महिनासम्म ग्यारेन्टेड भुक्तानी पाउनेछन् र एलिजिबल रिल्सलाई बढी दर्शकसम्म पुर्याउने व्यवस्था हुनेछ।

कार्यक्रममा सहभागी हुन क्रिएटरसँग युट्युब, टिकटक वा इन्स्टाग्राममा कम्तीमा एक लाख फोलोअर्स हुनु आवश्यक छ। एक लाख फोलोअर्स भएका क्रिएटरले मासिक करिब १,००० डलर कमाउन सक्नेछन् भने १० लाख फोलोअर्स भएका क्रिएटरले मासिक ३,००० डलरसम्म आम्दानी गर्न सक्नेछन्।

यसमा नयाँ कन्टेन्ट अनिवार्य छैन; पुरानो हिट कन्टेन्ट पनि प्राथमिकतामा रहनेछ। तीन महिनाको निश्चित भुक्तानी अवधि पछि क्रिएटरहरूको कन्टेन्टको रिच बढाउने सुविधा जारी रहनेछ। फेसबुकले यस कार्यक्रमको आधिकारिक सुरुवात मिति खुलाएको छैन, तर रिपोर्ट अनुसार छिट्टै सुरु हुने तयारी छ।































