
भौतिक पूर्वाधार, यातायात तथा सहरी विकास मन्त्री Sunil Lamsal ले मन्त्रालय सम्हालेको पहिलो दिनमै १० वटा महत्वपूर्ण निर्णय गरेका छन्। उनले मन्त्रालय मातहतका कर्मचारीलाई कडा निर्देशन दिँदै ढिलाइ, अनियमितता र भ्रष्टाचार नियन्त्रणमा केन्द्रित नीति अघि सारेका हुन्।

निर्णयअनुसार अब म्याद थप हुने गरी कुनै पनि योजना अगाडि नबढाइने, समयमै सम्पन्न नभएका सबै ठेक्कालाई रुग्ण योजना मानेर अध्ययन गरिनेछ। ठेक्का ढिलाइका कारण पहिचान गरी अवरोध तत्काल हटाउने व्यवस्था गरिनेछ।
त्यस्तै, ठेकेदार र इन्जिनियरबीच हुने साँठगाँठ तथा आर्थिक चलखेल पूर्ण रूपमा रोक्ने, भ्रष्टाचारजन्य गतिविधि दोहोरिन नदिने गरी कडा निगरानी गर्ने नीति लिइएको छ। सबै पूर्वाधार योजनामा नियमित अनुगमन र प्रगति मूल्यांकन गरिनेछ।


लाइसेन्स छपाइ प्रणाली व्यवस्थित गर्ने, बक्यौता समस्या समाधान गर्ने, अस्थायी व्यवस्थामा चिपबिनाको कार्ड तुरुन्त उपलब्ध गराउने र पानीजहाज कार्यालय तथा रेल विभागको कार्यप्रणाली समीक्षा गर्ने निर्णयसमेत गरिएको छ।
पूर्व–पश्चिम रेल परियोजनालाई प्राथमिकतामा राखी कार्यान्वयन गर्ने सरकारको योजना रहेको छ।
































