
विराटनगरका कांग्रेस नेता तथा विवादास्पद पृष्ठभूमिका अभिषेक गिरीलाई प्रहरीले शनिबार बिहान पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले बिहानै उनको घरमा छापा मारेर नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार गिरीमाथि कारागारभित्रबाटै अवैध असुलीको धन्दा सञ्चालन गरेको आरोप छ। पक्राउअघि उनको घरमा खानतलासी गरिएको भए पनि त्यहाँबाट के–कस्ता सामग्री बरामद भए भन्नेबारे प्रहरीले औपचारिक जानकारी दिएको छैन। मोरङका प्रहरी प्रमुख एसपी कबित कटवालले शंकास्पद वस्तु रहेको सूचनाका आधारमा छापा मारिएको र घटनाबारे थप अनुसन्धान भइरहेको बताए।

गिरी यसअघि पनि विभिन्न आपराधिक गतिविधिसँग जोडिँदै विवादमा पर्दै आएका छन्। अपहरण मुद्दामा कारागारमा रहँदासमेत उनी विभिन्न विवादमा तानिएका थिए। कैद भुक्तानपछि रिहा भएका गिरी पछिल्लो समय नेपाली कांग्रेसको राजनीतिमा सक्रिय थिए। उनीमाथि कैदीबन्दीबाट रकम असुली गर्नुका साथै भत्ता अपचलन गरेको आरोपसमेत लागेको छ। प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान अघि बढाएको जनाएको छ।

































