
हालको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै प्रहरी प्रधान कार्यालयले देशभरका प्रहरी कर्मचारीलाई बिदा नदिन कडा निर्देशन दिएको छ। प्रशासन शाखाले शनिबार जारी परिपत्रमार्फत प्रसूति र किरिया बिदाबाहेक अन्य कुनै पनि बिदा स्वीकृत नगर्न भनिएको हो। शाखा अधिकारी डीएसपी सन्तोष निरौलाले मातहत निकायलाई पठाएको पत्रमा अर्को आदेश नभएसम्म बिदा नछाड्न स्पष्ट उल्लेख गरिएको छ।

यससँगै बिदामा रहेका प्रहरी अधिकृतहरूलाई पनि तुरुन्तै कार्यस्थलमा फर्किन निर्देशन दिइएको छ। कार्यालय प्रमुखको जिम्मेवारीमा रहेका अधिकृतहरूलाई अविलम्ब हाजिर गराउन भनिएको छ।

यो निर्देशन अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रहरी महानिरीक्षकको सचिवालय, सबै विभाग, ब्युरो, प्रदेश तथा काठमाडौँ उपत्यका प्रहरी कार्यालयमा पठाइएको छ। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउपछि देशभर बढ्दो विरोधका कारण सुरक्षा व्यवस्था कडा पारिएको हो।

































