
जिल्लाका मुख्य राजमार्ग क्षेत्रमा बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालयले लागुपदार्थ सेवन (लापसे) गरेर सवारी चलाउने चालकविरुद्ध कडा अभियान सञ्चालन गरेको छ। गत कात्तिकदेखि हालसम्म २२ जना चालक कारबाहीमा परेका छन्।

हालै पूर्व–पश्चिम महेन्द्र राजमार्गमा गरिएको छड्के जाँचका क्रममा चार जना चालक लागुपदार्थ सेवन गरेको अवस्थामा पक्राउ परेका छन्। स्वास्थ्य कार्यालय र महाकाली अस्पतालको प्राविधिक सहयोगमा गरिएको परीक्षणमा १६ मध्ये चार जनामा लापसे पुष्टि भएको हो।

प्रहरीले ‘ड्रग डिटेक्सन किट’ प्रयोग गरी र्याल परीक्षणबाट तुरुन्तै नतिजा निकाल्ने गरेको जनाएको छ। पुष्टि भएपछि लागुऔषध ऐनअन्तर्गत मुद्दा दर्ता गरिन्छ। यसअघि मापसे मात्र जाँच हुँदै आएकामा अहिले लापसे जाँचसमेत प्रभावकारी रूपमा लागू गरिएको छ।

प्रहरीका अनुसार लागुपदार्थ सेवनले निर्णय क्षमता घटाउने, प्रतिक्रिया ढिलो बनाउने र दुर्घटनाको जोखिम बढाउने भएकाले यस्तो अभियान निरन्तर जारी रहनेछ।






























