बझाङको छविसपाथिभेरामा खानेपानी संकट अन्त्य: कुवादेखि धारासम्मको यात्रा, घरघरमा शुद्ध पिउने पानी

Image
Nisarga Hospital

डीवि विष्ट /बझाङ:  केही वर्षअघि सम्म बझाङको छविसपाथिभेरा गाउँपालिका–७ स्थित मजखोरी गाउँका नागरिकको दैनिकी कुवा, खोलानाला र आकाशे पानीकै भरमा चलेको थियो । एकाबिहानै डोको र घडा बोकेर टाढाटाढा बाट पानी ल्याउनुपर्ने बाध्यता यहाँका नागरिकहरुको थियो । कतिपय खोला नालामा पानी ल्याउन जान्थे भने कतिपय कुवामा लाइन बस्नुपर्ने अवस्था थियो । कहिलेकाहीँ फोहोर पानी नै पिउनुपर्ने विवशता झै रहेको यहाँका बासिन्दाको भनाई छ । परापूर्वकाल देखि नै खानेपानीको चरम अभाव भोग्दै आएका बजखोरी बनासिन्दाका लागि पानी केवल आवश्यकता मात्र नभई संघर्षको कथा जस्तै रहेको बसन्ति बुढाले बताईन् ।

CP Hospital Dhangadhi

तर अहिले उक्त दृश्य फेरिएको छ । त्यही मजखोरी गाउँमा घरघरमा नै धारा जडान भएका छन् । यहाँका स्थानीय बासिन्दाले शुद्ध पिउने पानी सहज रूपमा उपभोग गर्न पाएको बुढाले बताईन् । वर्षौँदेखि भोक्दैै आएको खानेपानी संकटको अन्त्य सँगै गाउँमा खुसी र उत्साह थपिएको छ ।

स्थानीय मन्धिरे धामीले विगत सम्झिँदै भने, “हामीले त कहिल्यै यस्तो दिन देखिन्छ भनेर सोचेका पनि थिएनौँ । कुवा खनेर पानी निकाल्ने, खोलानालाको पानीलाई डोकोमा बोकेर ल्याउने, कहिले आकाशे पानीको भर पर्नुपर्ने—यही हाम्रो बाध्यता थियो । अहिले घरमै शुद्ध पानी पाएका छौँ । यो हाम्रो लागि सपनामा सम्म पनी नसोचेको ठुलो परिवर्तन भएको बताए ।”

nawajiwan

जलजला सेरा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष पदम बहादुर मण्डेलका अनुसार योजना दीगो रूपमा सञ्चालन हुने गरी निर्माण गरिएको छ । “अब यहाँका नागरिकले पानीका लागि कुर्नु पर्ने, खोलानालातिर धाउनु पर्ने, आकाशे पानीको भर पर्नु पर्ने वा कुवाको पानीका लागि झगडा गर्नुपर्ने अवस्था पूर्ण रूपमा अन्त्य भएको छ,” उनले भने। उनले थपे, “हरेक घरमा धारा जडानसँगै मिटर पनि राखिएको छ। भोलिका दिनमा कुनै समस्या आएमा महशुलबाट जम्मा भएको रकमले मर्मत गर्न सहज हुनेछ, जसले योजनालाई दीगो बनाउँछ।”

“पहिले पानीको यति अभाव थियो कि खोलामा बगेको फोहोर पानी समेत पिउनु पर्ने यहाँका नागरिकहरुको बाध्यता थियो । अहिले मुहानदेखि मुखसम्म शुद्ध पानी पाएका छौँ, अब त्यो दुःख भोग्नुपर्दैन ।”
वडा नम्बर ७ की देबकी बुढाले भनिन्, एक मात्र मुहानमा निर्भर रहँदा “एउटा मात्रै मुहान थियो, १०–१५ परिवारले त्यहीँबाट पानी लिने गर्थेउ । विशेषगरी जेठ–बैशाखमा पानीको अभाव हुँदा गाउँमै झगडा हुने, कुटाकुट हुने अवस्था सिर्जन हुन्थ्यो । अहिले त्यो सबै समस्याको अन्त्य भएको, उनले भनिन् ”।

Attariya Hospital

छविसपाथिभेरा गाउँपालिकाकी कार्यपालिका सदस्य तथा स्थानीय अञ्जना देवी बोहराले विगतको अवस्था निकै कष्टकर रहेको सुनाईन् । “घडा, बेलुनहरु बोकेर खोलासम्म जानु पर्ने, खोलामा बगेको दिशा–पिसाब देख्दादेख्दै पानी पिउनु पर्ने बाध्यता थियो । अहिले त्यो अवस्था पूर्ण रूपमा अन्त्य भएको छ । घरमै शुद्ध पानी पाउँदा निकै खुसी लागेको उनले प्रतिक्रिया दिइन् ”।

छविसपाथिभेरा गाउँपालिका अध्यक्ष बसन्त चलाउनेले आफू निर्वाचित भएपछि ‘मुहानदेखि मुखसम्म शुद्ध पिउने पानी’ पु¥याउने प्रतिबद्धता गरेको स्मरण गर्दै उक्त लक्ष्य जलवायु परिवर्तन स्थानीय अनुकूलन (लक) परियोजना मार्फत पूरा भएको बताए । “हामीले अघिल्लो आर्थिक वर्षमा गाउँपालिका भित्रका ७ वटा योजना सुरु गरेका थियौँ । मुख्य बजार, वडा र विद्यालयहरूमा समेत खानेपानीको समस्या थियो । अहिले ती क्षेत्रहरूमा पनि समस्या समाधान गर्न सफल भएका छौ । उनले भने, मजखोरीमा मात्रै १ सय ३५ घरधुरीमा खानेपानीका धारा निर्माण गरिएका छन् भने स्वास्थ्य संस्था र विद्यालयहरुमा पनि पानीको पहुँच विस्तार गरिएको बताउनुभयो । उक्त योजना करिब १ करोड ३२ लाख रुपैयाँ लागतमा सम्पन्न भएको बताउदै अध्यक्ष चलाउनेले यो योजना फिनल्याण्ड सरकार, युरोपियन युनियन सरकार, अर्थात जलवायु परिवर्तन स्थानीय अनुकुलन लक परियोजना, नेपाल सरकार र स्थानीय सरकारको संयुक्त लगानीमा कार्यान्वयन गरि कार्य सम्पन्न गरिएको बताए ।

जलवायु परिवर्तन स्थानीय अनुकूलन (लक) परियोजनाले खानेपानीसँगै सिँचाइ, कृषि र वन व्यवस्थापन क्षेत्रमा समेत काम गर्दै आएको जलवायु परिवर्तन स्थानीय अनुकुलन परियोजनाका जिल्ला सल्लाहकार विरेन्द्र थापाले बताए । यस योजनालाई सम्पन्न गर्नका लागी स्थानीयको सक्रिय सहभागिता र उपभोक्ता समितिको व्यवस्थापन प्रणालीका कारण समयमा नै सम्पन्न भएको र योजना दीगो रूपमा सञ्चालन हुने विश्वास गरिएको बताउनुभयो ।

मजखोरी गाउँमा आएको यो परिवर्तनले दुर्गम क्षेत्रका नागरिकको जीवनस्तर सुधारमा खानेपानीजस्तो आधारभूत सेवाको कत्तिको महत्वपूर्ण भूमिका हुन्छ भन्ने स्पष्ट देखाएको जलवायु परिवर्तन स्थानीय अनुकुलन परियोजनाका टिक लिटर डाक्टर सान्नालिना राउताले बताईन् । वर्षौँदेखिको अभाव र संघर्षपछि प्राप्त भएको यो सुविधा यहाँका नागरिकका लागि केवल सेवा मात्र नभई समृद्धि र सम्मानको आधार समेत बनेको उनको भनाई छ ।

Advertize US