कैलालीमा मालपोत र यातायातमा बिचौलियामाथि प्रहरीको कडा कारबाही, १२ जना पक्राउ

Image
Nisarga Hospital

कैलालीका प्रमुख सरकारी सेवा कार्यालय आसपास बिना अनुमति लेखापढी तथा मध्यस्थता गर्ने बिचौलियामाथि प्रहरीले कडा कारबाही थालेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले मालपोत कार्यालय कैलाली र यातायात व्यवस्था कार्यालय धनगढी परिसरबाट १२ जना बिचौलियालाई पक्राउ गरेको जनाएको छ ।

CP Hospital Dhangadhi

प्रहरीका अनुसार सेवाग्राहीलाई प्रभावमा पार्दै बिना लाइसेन्स लेखापढी, कागजी काम मिलाइदिने र छिटो सेवा दिलाइदिने नाममा अनधिकृत गतिविधि भइरहेको सूचनाका आधारमा अनुगमन गरिएको थियो । सो क्रममा मालपोत कार्यालय बाहिरबाट ५ जना र यातायात व्यवस्था कार्यालय बाहिरबाट ७ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।

Attariya Hospital

कार्यालय वरिपरि केही व्यक्तिहरूले सरकारी काम छिटो गराइदिने, प्रक्रिया सहज बनाइदिने भन्दै सेवाग्राहीसँग रकम असुल्ने गरेको गुनासो बढ्दै आएको थियो । यस्ता गतिविधिले सेवाग्राही ठगिने जोखिम बढाउनुका साथै सरकारी सेवा प्रवाहमा अवरोध सिर्जना गर्ने भएकाले निगरानी कडा पारिएको प्रहरीले जनाएको छ ।

nawajiwan

पक्राउ परेकाहरूको नामावली प्रमाणीकरण गर्ने प्रक्रिया जारी रहेको र उनीहरूविरुद्ध आवश्यक कानुनी कारबाही अघि बढाइने प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ । प्रहरीले सेवाग्राहीलाई बिचौलियाको सहारा नलिई सम्बन्धित कार्यालयमै प्रत्यक्ष सम्पर्क गर्न आग्रह गरेको छ । साथै, यस्ता अवैध गतिविधि देखिए तत्काल जानकारी गराउन पनि अपिल गरिएको छ ।

Advertize US