
कैलालीको चौकीडाँडा–फल्टुडे सडकखण्डमा निर्माण कार्यमा भएको ढिलाइ र धुलोको समस्या विरुद्ध स्थानीयले सडक बन्द गरेका छन्। गोदावरी–३ मालाखेती क्षेत्रमा शनिबार स्थानीयले सडकमा ढुंगामुँढा राख्दै आवागमन अवरुद्ध गरेका हुन्।

लामो समयदेखि सडक निर्माण अलपत्र पर्दा धुलोका कारण जनस्वास्थ्यमा प्रत्यक्ष असर परेको भन्दै बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको स्थानीय तेजराज जोशीले बताए। निर्माण कम्पनी एडभेञ्चर थेगिम जेभी र तेडी निर्माण सेवाको लापरबाहीका कारण स्थानीयले निरन्तर सास्ती खेप्नु परेको गुनासो गरिएको छ।
यसअघि पनि ठेकेदारको ढिलासुस्तीविरुद्ध वडा नं. ३, १०, ११ र १२ का वडाध्यक्षहरूले सडकबाटै कार्यालय सञ्चालन गर्दै विरोध जनाएका थिए भने अत्तरिया चोकमा र्याली समेत निकालिएको थियो। दबाबपछि ठेकेदारले २०८२ चैत १५ भित्र सडक निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाए पनि हालसम्म प्रगति देखिएको छैन।




२०७७ भदौ १८ मा पाँच करोड ८४ लाख रुपैयाँमा सम्झौता गरिएको उक्त सडक २०७८ माघभित्र सम्पन्न हुनुपर्ने थियो। पटक–पटक म्याद थपिए पनि काम अघि नबढेपछि स्थानीय आक्रोशित बनेका छन्। अब चाँडो काम अघि नबढे आन्दोलन अझै कडा पार्ने चेतावनी समेत दिइएको छ।



































