
आगामी शैक्षिकसत्र २०८३ का लागि प्रदेशका विभिन्न जिल्लामा स्थानीय पुस्तक बिक्रेतामार्फत पाठ्यपुस्तक बिक्री–वितरण भइरहेको प्रादेशिक कार्यालयले जनाएको छ। कार्यालय प्रमुख निर्मल कुमार यादवका अनुसार हालसम्म करिब रु ३ करोड ७४ लाख ७० हजार बराबरको कारोबार भइसकेको छ।

उनका अनुसार बाजुरा, दार्चुला, अछाम र बझाङसहित पहाडी जिल्लामा पुस्तक ढुवानी भइसकेको छ भने चैत ३० गतेभित्र प्रदेशका सबै नौ जिल्लामा पुस्तक पुर्याउने योजना छ। “दुर्गम क्षेत्रमा ढुवानी तीव्र रूपमा भइरहेको छ, शैक्षिकसत्र सुरु हुनुअघि नै सबै ठाउँमा पुस्तक पुग्छ,” यादवले भने।

केन्द्रले आगामी वर्षका लागि करिब साढे १६ लाख थान पाठ्यपुस्तक वितरण गर्ने लक्ष्य राखेको छ। कक्षा ३, ५ तथा ६ देखि १२ सम्मका पुस्तक बिक्री–वितरण भइरहेको जनाइएको छ।

चालु शैक्षिकसत्रमा यस प्रदेशमा १६ लाख २९ हजार २६३ थान पुस्तक बिक्री भई करिब रु २१ करोड ९३ लाखभन्दा बढीको कारोबार भएको केन्द्रले जनाएको छ। समयमै आपूर्ति सुनिश्चित गर्न ढुवानी र वितरण कार्यलाई प्राथमिकतामा राखिएको छ।
































