
प्रतिनिधि सभा सदस्य खेम राज कोइराला ले गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनका लागि आवश्यक बजेट सुनिश्चित भइसकेको बताएका छन्।

मंगलबार अत्तरियामा आयोजित विश्वविद्यालय समन्वय समिति तथा स्थानीयसँगको छलफल कार्यक्रममा उनले प्रधानमन्त्री र अर्थमन्त्रीबाट बजेट उपलब्ध गराउने स्पष्ट प्रतिबद्धता प्राप्त भइसकेको जानकारी दिए।
उनका अनुसार आगामी आर्थिक वर्षका लागि विश्वविद्यालय सञ्चालन गर्न माग गरिएको करिब २ अर्ब ५८ करोड रुपैयाँ बजेट उपलब्ध गराइने सुनिश्चित भएको छ। “अब यस विषयमा शङ्का गर्नुपर्ने कुनै ठाउँ छैन,” उनले भने।




विश्वविद्यालय सञ्चालनको तयारीलाई तीव्र बनाउन स्थानीय तह र सरोकारवालासँग सहकार्य आवश्यक रहेको उनले जोड दिए। साथै, यस परियोजनाले सुदूरपश्चिममा चिकित्सा शिक्षाको पहुँच विस्तार गर्ने विश्वास व्यक्त गरिएको छ।



































