
सुदूरपश्चिम र कर्णाली प्रदेशमा वैशाख १ गते मनाइने मौलिक विसु पर्वका लागि यतिबेला भारतमा रोजगारी र अध्ययनका लागि रहेका हजारौं नेपालीहरू घर फर्किन थालेका छन्। कैलालीको गौरिफन्टा र कञ्चनपुरको गड्डाचौकी नाकामा दैनिक ठूलो संख्यामा नेपालीहरूको आवागमनले सीमा क्षेत्रमा चाप बढेको छ।

बझाङका दिलबहादुर सिंह एक वर्षपछि भारतको अल्मोडाबाट गाउँकै केही युवासँगै घर फर्किएका छन्। दशैँ–तिहार भारतमै मनाएका उनी यस पटक विसु पर्व परिवारसँगै गाउँमै मनाउने योजनामा छन्। उनले भने, “हामी काम गर्ने क्षेत्रबाट सैयौं नेपालीहरू विसु मनाउन घर फर्किरहेका छन्।”
त्यस्तै, बैतडी पाटनका रमेश विष्ट पनि नयाँ दिल्लीबाट परिवार भेट्ने र पर्व मनाउने उद्देश्यले घर फर्किएका छन्। उनी विगत वर्षहरूमा जस्तै यसपटक पनि मौलिक ढंगले विसु मनाउन उत्साहित छन्। भारतमा काम गरिरहेका धेरै नेपालीहरू सात महिनादेखि एक वर्षको अन्तरालमै घर फर्किन थालेका छन्।




सीमा नाकामा भने पुरानै समस्याले यात्रुहरूलाई सास्ती दिएको छ। यात्रुहरूले लामो लाइन, घण्टौं कुर्नुपर्ने अवस्था र अनावश्यक चेकजाँचका कारण आवागमन सहज नभएको गुनासो गरेका छन्। डोटीका पूर्वबहादुर जोशीले भने, “२० वर्षदेखि यही नाकाबाट आउजाउ गरिरहेको छु, अहिले झन् झन्झटिलो भएको छ।”
विसु पर्वको अवसरमा पहाडी गाउँहरूमा पनि चहलपहल बढेको छ। घर–आँगन सफा गर्ने, लिपपोत गर्ने र परम्परागत परिकार बनाउने काम तीव्र बनेको छ। सुख, शान्ति र समृद्धिको कामना गर्दै सपरिवार पर्व मनाउन सबै आतुर देखिन्छन्।
अछामका भीमबहादुर थापा दुई वर्षपछि विसु मनाउन घर फर्किएको बताउँछन्। विसुका अवसरमा देउडा खेल, गीतसंगीत र सिस्नु लगाउने परम्पराले पर्वलाई विशेष बनाउँछ। यसले समुदायबीच एकता बढाउनुका साथै सांस्कृतिक पहिचान संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको छ।
पछिल्लो समय तराई क्षेत्रमा समेत विसु पर्व मनाउने चलन विस्तार हुँदै गएको छ, जसले नेपाली संस्कृति अझ व्यापक बन्दै गएको संकेत दिएको छ।



































