
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आवश्यक रहेको बताएका छन्। कञ्चनपुर उद्योग वाणिज्य सङ्घको ३४औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले निजी क्षेत्रलाई केवल नाफा कमाउने माध्यमका रूपमा मात्र नहेर्न आग्रह गरे।

उनका अनुसार कुल गार्हस्थ उत्पादन (जिडिपी) को ८० प्रतिशतभन्दा बढी योगदान निजी क्षेत्रले गरिरहेको छ भने पूर्वाधार विकास र रोजगारी सिर्जनामा पनि यसको भूमिका प्रमुख छ। सुदूरपश्चिममा पर्यटनको अपार सम्भावना रहेको उल्लेख गर्दै उनले यस क्षेत्रमा ठूला पर्यटन पूर्वाधारमा लगानी भइरहेको जानकारी दिए।

ढकालले बडिमालिका र रामारोशनजस्ता धार्मिक तथा प्राकृतिक गन्तव्यको विकाससँगै पर्यटन प्रवर्द्धनले समग्र प्रदेश र देशको अर्थतन्त्रलाई टेवा पुग्ने विश्वास व्यक्त गरे। छिमेकी भारतका औद्योगिक क्षेत्र नजिक भएकाले सुदूरपश्चिमले आर्थिक लाभ लिन सक्ने उनले बताए। उनले निजी क्षेत्रका समस्या समाधानका लागि सरकारसँग निरन्तर पहल भइरहेको पनि स्पष्ट पारे।






























