गोदावरी–१२ वडामा नयाँ वडा कार्यालय भवन उद्घाटन, सहयोगी दाताहरू सम्मानित

Image
Nisarga Hospital

कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १२ को नयाँ वडा कार्यालय भवन सोमबार उद्घाटन भएको छ। उद्घाटन कार्यक्रम नगरपालिकाका मेयर वीरेन्द्र भट्टले गरेका थिए। कार्यक्रममा मेयर भट्टले वडाका सबै भवन निर्माणमा ढिलाइ भएकोमा दुःख व्यक्त गर्दै, नगरपालिकाले २०७९ मै भवन निर्माण गर्न खोजेको भए पनि आफूहरूको जमिन नहुँदा कार्य अघि बढ्न नसकेको बताए।

CP Hospital Dhangadhi

मेयर भट्टले भने, “हाल वडाको भवन निर्माणका लागि जग्गा उपलब्ध भएपछि यो परियोजना सुरु हुन सक्यो। नगरपालिकाको विकासका लागि सबैको सहकार्य अत्यन्त आवश्यक छ।” उनले आगामी दिनमा वडा नम्बर १० र २ मा पनि भवन निर्माण सुरु हुने जानकारी दिएका छन्। वडा नम्बर ३ मा भवन निर्माणाधीन अवस्थामा रहेको छ भने वडा ६ मा जमिनको समस्या भएको कारण निर्माणमा चुनौती रहेको उनले बताए। भवन निर्माण कम्पनीले तोकिएको म्यादभन्दा अघि काम सम्पन्न गरेकामा मेयरले धन्यवाद व्यक्त गरे।

nawajiwan

वडाध्यक्ष भीम बहादुर खड्काले पनि भवन उद्घाटनको दिन वडाका लागि खुसीको क्षण भएको बताए। उनले भने कि, “जग्गा नहुँदा ढिलाइ भयो, तर अहिले दाताहरूको सहयोगले काम सहज भएको छ।” जग्गा दान गर्ने शेर बहादुर लुहार विक र प्रेम बहादुर बडैलालाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो।

Attariya Hospital

वडा कार्यालय भवन निर्माणका लागि उप्रेती बिल्डर्स एण्ड इन्जिनियर्स प्रालिसँग भ्याटसहित ६२ लाख ६५ हजार २८३ रुपैयाँमा ठेक्का सम्झौता गरिएको थियो। निर्माणको म्याद असार मसान्तसम्म भए पनि कम्पनीले समयभन्दा पहिले निर्माण सम्पन्न गरि भवन सञ्चालनमा ल्याएको छ। भवनको शिलालेखमा पनि जग्गा दाताहरूको नाम अंकित गरिएको छ।

वडाध्यक्ष खड्काले भवन संचालनले दैनिक प्रशासनिक कामकाज गर्न धेरै सहज भएको उल्लेख गर्दै, सहयोगी दाताहरू र निर्माण कम्पनीलाई पुनः धन्यवाद दिएका छन्। नयाँ भवन उद्घाटनले वडामा सरकारी सेवाहरूको पहुँच र कामकाजमा सुधार ल्याउने विश्वास गरिएको छ।